सरकारलाई टेर्दैनन् ठेकेदार

रिपोर्ट नेपाल | 2022 Jul 14 | 07:43 am 1737

दाङ, असार ३०ः समयमै काम गरेको भए घोराहीको शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैङ्कदेखि शहीदगेटसम्म नालासहित सडक पिच (कालोपत्रे) गर्ने काम असारमा सकिनुपर्ने हो तर कार्य जिम्मा पाएको वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले चरम लापरबाही देखायो ।

एक करोड १५ लाख ३४ हजार नौ सय २४ रुपियाँमा यही असार मसान्तभित्र सक्ने गरी २०७७ माघ ८ गते सम्झौता गरिए पनि अहिलेसम्म नाला निर्माणको कामसमेत सकिएको छैन । समयमै काम गर्नका लागि ठेकेदारलाई कार्यालय बोलाएर सचेत गराउनुका साथै पत्र काटेर घोराही उपमहानगरपालिकाले पटक–पटक ताकेता गरे पनि ठेकेदारले काम गरेको जस्तो बहना गर्ने तर काम भने नगर्ने प्रवृत्तिका कारण सर्वसाधारण जनताले दुःख पाइरहेका छन् ।

घोराही उपमहानगरपालिका–२ मा १५ शøयाको अस्पताल भवन निर्माण गर्न २०७८ असार २८ गते राजेन्द्र निर्माण सेवाले सम्झौता गरे पनि निर्माणको अझै काम सुरु हुन सकेको छैन । सङ्घीय सरकारको १० करोड ६६ लाख चार हजार नौ सय एक रुपियाँमा २०७९ असार मसान्तभित्र अस्पताल भवन बनाउने सम्झौता भएको थियो । त्यहीअनुसार उक्त अस्पतालको लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले शिलान्याससमेत गर्नुभयो तर उक्त भवनको शिलान्यासबाहेक अरू काम नै हुन सकेको छैन ।

अर्काे उदाहरण घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक कालोपत्रे गर्न पुष्पाञ्जलि÷पीएस जेभीले २०७८ फागुन ४ गते दुई करोड ३१ लाख ५५ हजार तीन सय ६० रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार काम गरेको भए अहिले उक्त सडक कालोपत्रे भएको हुनुपर्ने भए पनि ठेकेदारले अहिलेसम्म ग्राभेल गर्ने काम मात्रै गरेको छ । पिचको काम यस आर्थिक वर्षमा सक्ने कुनै पनि छाँटकाँट छैन ।

ठेकेदारको चरम लापरबाहीका कारण घोराहीमा एक दर्जन विकास निर्माणका आयोजना अघि बढ्न सकेका छैनन् । सहरी विकास तथा पूर्वाधार निर्माण शीर्षकमा पालिकाले छुट्याएको बजेटबाट बजार क्षेत्रमा नाला, सडक कालोपत्रेदेखि ग्रामीण क्षेत्रका सडक कालोपत्रे गर्न सम्झौताअनुसार समयमा काम नगर्दा अलपत्र जस्तै बनाएका छन् । घोराही उपमहानगरपालिकाले समयमै काम गराउनका लागि पटक–पटक ताकेता गरे पनि ठेकेदार सम्पर्कमा नआएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताएका छन् ।

‘तोकिएको समयभित्रै काम सक्ने गरी सम्झौता भएको हो तर विभिन्न बहाना बनाएर काममा ढिलाइ गर्ने प्रवृत्ति देखिएपछि केही निर्माण व्यवसायीलाई बोलाएर त केहीलाई पत्र काटेर सचेत बनाउने काम गरेका थियौँ,” प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भने, “तर निर्माण व्यवसायीले काम गर्छु भन्ने तर जिम्मेवारीअनुसार काम नगर्दा समस्या बनाए ।”

प्रमुख प्रशासकीय अधिकृत केसीले ठेक्का लगाइएका नौवटा योजना असारमा सक्नुपर्ने भए पनि अहिलेसम्म कतिपयको कामै सुरु हुन नसकेको बताए । “कतिपय योजना यही असारमा सक्नुपर्ने थियो तर निर्माण व्यवसायीको लापरबाहीले अहिले दिन–रात काम गरे पनि नसकिने अवस्थामा छन्,” उनले भने, “ठेकेदारले काममा बेइमानी गर्ने र आयोजना अलपत्र पार्दा नागरिकले सास्ती बेहोर्नुपरेको छ । अर्काेतिर पालिकाको अपेक्षाअनुसार प्रगति देखिएको छैन ।” सडक निर्माणका लागि नाला अलपत्र बनाउनेदेखि सडकभरि गिट्टी फिँजाउदा आवागमनमा असर पुगेको स्थानीयको गुनासो छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.