काठमाडौं, फागुन १७ः नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा कांग्रेससहितको नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू गरेका छन् ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा एमालेलगायत दलहरू सरकारबाट बाहिरिएपछि स्वाभाविक रूपमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । यद्यपि, उनले शक्ति बाँडफाँटलगालतका सन्दर्भमा भने दलहरूबीच छलफल नभएको बताए । उनले नेपाल समचारपत्रसँग भने– ‘हामी सरकारमा जाने कुरा स्वाभाविक छ । तर, राष्ट्रपतिको निर्वाचन अघि वा पछि जाने भन्ने निक्र्यौल भइसकको छैन । प्रधानमन्त्रीले छलफल गराउनुभएकै छैन । सायद चाँडै छलफल हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले ८ दलको बैठक राखेर छलफल गरेपछि कांग्रेस सरकारमा जानेबारे निर्णयमा पुग्ने जिकिर गर्दै उनले सरकारमा कसको नेतृत्वमा जाने भन्ने कुरा पार्टीमा छलफलपछि निर्णय गरिने बताए ।
एमालेसहितको सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई महिनामै उक्त गठबन्धन तोड्नुभएको थियो । राष्ट्रपति निर्वाचनका लागि नयाँ समीकरण बनाएर कांग्रेसलाई सहयोग गर्ने माओवादीको निर्णयसँगै सत्ता सहयात्री दल नेकपा एमाले सरकार छाडेको थियो । राप्रपा र रास्वपाले यसअघि नै सरकार छाडिसकेका थिए । अहिले प्रचण्ड सरकारमा माओवादी केन्द्र र सिके राउत नेतृत्वको जनमत पार्टीमात्रै रहेका छन् ।
१६ मन्त्रालय मन्त्रीविहीन भएपछि प्रधानमन्त्रीलाई मन्त्रालयको भार थपिएको छ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताए । जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको जिकिर गर्दै उनले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुन नहुँने भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बताए ।
माओवादी केन्द्रका सचिव राम कार्कीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ समीकरणमा आवद्ध कांग्रेससहितका दलहरूसँग चाँडै छलफल गरेर प्रधानमन्त्री अघि बढ्ने बताए ।
कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन गरेर जनतामाझ पाँच वर्ष सँगै रहने प्रतिबद्धता व्यक्त गरेका प्रचण्डले सरकार निर्माणका समयमा गठबन्धन टुटाए पनि गत पुस २६ कांग्रेसले विश्वासको मत दिएसँगै कांग्रेसप्रति सकारात्मकता देखाएका थिए ।
कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थाप्न खोजे पनि त्यसमा माछा नपर्ने टिप्पणी गर्दै आएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै मन्त्रीहरूलाई फिर्ता बोलाएपछि सरकार अल्पमतमा परेको छ । आगामी सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरूलाई सहभागी गराएर सरकारले विश्वासको मत लिने नेताहरूले बताएका छन् । नेपाली कांग्रेस सरकारमा जाने विषयमा द्विविधा नरहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रपतिको निर्वाचनसम्म पर्खने बताए । नेपाल समाचारपत्रबाट