सरकारकाे निरिहता र जनताकाे आक्राेस

रिपोर्ट नेपाल | 2020 Apr 10 | 07:52 am 3152

  • महेन्द्र पाण्डेय

राणाकालीन प्रधानमन्त्री आफ्ना चार कमाण्डिङ जर्नेलबाट घेरिन्थे कुरा सबैको सुन्थे निर्णय आफैले लिन्थे। जसअपजदको भागीदार म स्वयम् आफैं हो भन्ने ठानि लिएका निर्णय तत्काल कार्यान्वयन गर्ने ल्याकत राख्दथे।

पंचायतका राजा आफ्नो राजदरबार सचिवालयका चारजना सचिवका भर पर्दथे। तिनहरु मध्ये कतिले राजालाई गुमराहमा राख्थे सूचना सम्प्रेषणमा अवरोध गर्थे जसका कारण पंचायत बदनाम भयो। राजाले आफ्ना आँखा कान थुनेर ती सचिवका आँखा कान खुला राखी तिनै प्रयोग गर्नाले पंचायतले नतिजा नदिँदा हामीले भन्यौ राजा असल थिए राजदरबार सचिवालय गतिलो भएन।

बहुदलीय ब्यबस्था , लोकतान्त्रिक र गणतान्त्रिक सरकार आफ्नो सानो कोटेरीको चार स्वकिय सचिवालयका सल्लाहकारको घेरामा रहन्छन्। प्रधानमन्त्रीले आफ्ना आँखा कान थुनेर ती सचिवालय सल्लाहकारका आँखा कान खुला राखी तिनै प्रयोग गर्नाले अहिले यो चरम मनवीय संकटको समयमा समेत सरकार थोरै पनि संवेदनशी र जवाफदेही देखिन्न। अब यिनको हकमा पनि अघिका राजालाई जस्तै यी ठिकै हुन स्वकीय सचिवालय निकम्मा भयो भनौं कि?

अब हरेकपटक ‘यति’ र ‘ओम्नी’ लाई पोस्दै जाने त्यस्तै मुलुकका विकास आयोजना हुन या खरिद प्रक्रिया बारम्बार तिनलाई पोस्ने गरि गरिरहँदा अब प्रधानमन्त्रीको नियत माथी नै शंका गर्ने?

बाजा बजाएर नआउने बिपत्ति यसपटक दुई महिना अगावै बाजा बजाएरै पूर्व जानकारी सहित कोरोना बिपत्ति आउँदा पनि हाम्रो तयारी शून्य रहेछ। आगो लागेपछी ईनार खन्ने भन्दा पनि यहाँ त्यही ईनार खन्न पनि मान्छेलाई काममा लगाउन बिलम्ब भए झैँ देखियो।

सरकारका जिम्मेवार मन्त्रीहरुको गैरजिम्मेवारीको पराकाष्ठा कति सम्म थियो भने कोही कोरोना फ्री नेपाल भन्ने घोषणा गर्न हतारिन्थे त्यस्तै कुनै मन्त्रीले कोरोनालाई प्रवेश निषेध गर्ने भनी अन्तर्वार्ता दिन्थे मानौं कि कोरोना भिसाको अनुमती लिएर मात्र भित्रन्छ झैँ गरेर।

हामी संग यथेष्ट समय थियो उक्त बिपत्ति ढिलोचाँडो हामीलाई पनि आईलाग्छ भनी सबैले सरकारलाई सचेत गराईरहेका थिए तर सरकार कानमा तेल हालेर बस्यो। जब बिपत्ति हाम्रो घाँटी समाउने गरि आईपुग्यो तब मात्र सरकारको होस् खुल्यो र निस्चित स्वार्थ समूहलाई मनग्गे फाईदा पुग्ने गरि प्रक्रिया अगाडी बढाईयो। अन्ततः त्यो प्रक्रिया विवादास्पद त थियो नै साथै छानिएको कम्पनीले ल्याएका कमसल सामान स्वास्थ्यकर्मीले नै प्रयोग गर्न नमाने पछि सरकार पछाडि हच्कियो।

अब संक्रमणको जोखिम आफ्नै आँगनमा छ र अगामी एक दुई हप्ता नेपालका लागि कष्टकर बन्दैछ। तर यहि समयमा हामी संग जाँच गर्ने कीट सहित आवश्यक स्वास्थ्य सामाग्री छैन। जुन हामीले पुनः हासिल गर्न दुई हप्ता लाग्छ भने त्यतिन्जेल भगवान भरोसामा नै बस्नु पर्ने हुन्छ। सरकार किन टेण्डर भयो र रद्ध भयो भनी प्रश्न गर्दा कर्मचारीलाई देखाएर पन्छिन खोजेर आफ्नो निर्लज्जता प्रदर्शन गर्छ।

एकातिर सीमा नाकामा नागरिक राज्यबिहिन हुने , अर्कोतिर कोरोना विरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि सुरक्षाका लागि आवश्यक सामाग्री नहुने संगै उनीहरू घरबाट निकालिनुपर्ने स्थिति छ। यहाँ बिपत्तिमा जनतालाई राहत दिलाउने सरकारी योजना नै छैन सामाग्री नै छैनन् तर यहि मौकामा सरकार नै मनग्गे कमाउने योजनामा लागेको छ।

जनतामा सरकार राज्य बिहिनताको निराशा हुनु पक्कै राम्रो होइन यसले सरकारले स्वयं जनताबाट आफ्नो बैधता नष्ट गर्दैछ। सरकार गम्भीर भएर अप्रिय निर्णय पनि लिन सक्नुपर्छ यस्तो समयमा नागरिकको स्वास्थ्य र सुरक्षाका लागि। प्रधानमन्त्रीले गम्भीरताका साथ अबिलम्ब विवादितलाई हटाएर नयाँ योग्य समूहको छनोट गर्नु जरुरी छ नभए स्वयं प्रधानमन्त्रीको निष्ठा माथी नै जनतामा प्रश्न चिन्ह खडा हुनेछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.