विराटनगर, साउन ८: क्षतिपूर्तिबापतको एक सय रुपैयाँ भराउन विराटनगर महानगरपालिका–५ की इन्दिरा चापागाईंले जिल्ला अदालत, मोरङमा निवेदन दिएकी छिन्। अदालतको फैसला कार्यान्वयमा ढिलाइ भएपछि चापागार्इंले निवेदन दिएको बताइन्।
विराटनगर–४ बरगाछीस्थित गोग्राहा माविकी व्यवस्थापन समितिकी पूर्वअध्यक्ष चापागाईंले तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर भुजेलले गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दिएकी थिइन्। २०७२ मा दर्ता गरिएको मुद्दामा ३ चैत, २०७३ मा जिल्ला अदालतले र गत २२ फागुनमा उच्च अदालतले चापागाईको पक्षमा फैसला गरेको थियो। उच्च अदालतको फैसलामा विराटनगर–५ का भुजेललाई क्षतिपूर्ति वाफत एकसय रुपैयाँ सजाय तोकिएको खबर नयाँ पत्रिका दैनकमा छ।
त्यही फैसला छिटो कार्यान्यन गराउन माग गर्दै चापागाईले जिल्ला अदालतको फैसला कार्यान्व्यन गराउने तहसिल शाखामा निवेदन दिएकी हुन्। ‘अदालतले दिलाएको न्याय आफुले चाडै भोग गर्न पाए मात्रै बास्तविक न्यायको अनुभुति हुने भएकोले चाँडो फैसाला कार्यान्यवन गराइदिन अदालतमा निवेदन दिएकी हुँ,’ उनले भनिन्।
एक सय रुपैयाँ क्षतिपूर्ति भराउन माग गर्दै वादी पक्षले निवेदन दिएपछि अदालते प्रतिवादीलाई फैसलाअनुसारको क्षतिपुर्ति बुझाउन ३५ दिने म्याद पूर्जी जारी गरेको तहसिलदार केदारप्रसाद गौतमले बताए। उनका अनुसार, त्यो म्यादभित्र एक सय रुपैयाँ नबुझाएमा अदालतले सात दिने म्याद पूर्जी जारी गरेर पक्राउ गर्ने छ।