काठमाडाैं, जेठ २७ः चालु आर्थिक वर्ष २०७७-०७८ सकिन ३५ दिन मात्र बाँकी रहँदा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गर्न अझै बाँकी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बाँकी दिनमा उक्त रकम खर्च गर्न प्रत्येक दिन ५ अर्ब ९८ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।
सरकारले हालसम्म लक्ष्यको ३८.९६ प्रतिशत अर्थात् १ खर्ब ३७ अर्ब रुपैयाँ मात्र पुँजीगत खर्च गरेको कार्यालयले जनाएको छ । सरकारले चालु वर्षमा ३ खर्ब ५२ अर्ब बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्यभन्दा धेरै कम खर्च गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा ७१.३ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गरेका छन् ।
उनले गरेको अनुमान अनुसार खर्च हुने हो भनेपनि अब दैनिक ३ अर्ब भन्दा बढी खर्च हुनुपर्ने देखिन्छ । तर मंगलबार मात्र १ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ । यसैले पनि लक्ष्य अनुसारको खर्च नहुने अनुमान लगाउन सकिन्छ ।
तर, अर्थविद्हरु भने असार महिनामा धेरै भन्दा धेरै पुँजीगत रकम खर्च हुने गरेको बताउँछन् । अर्थविद् तथा पूर्व अर्थसचिव सुमन शर्मा वर्षको अन्तिम चौमासिकमा ४६ प्रतिशत, अन्तिम महिनामा २७ प्रतिशत र अन्तिम हप्तामा १३ प्रतिशत खर्च हुने अध्ययनले देखाएको बताउँछन् । ‘पुँजीगत रकम अन्तिम महिनाको अन्तिम हप्ताको अन्तिम दिनमा सबैभन्दा धेरै खर्च हुने गरेको छ,’ उनी भन्छन्, ‘त्यसैले यस वर्ष ७० देखि ७५ प्रतिशत सम्म खर्च हुने अनुमान गरेको छु ।’ काराेबार दैनिकबाट