जकार्ता- लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको छ ।
कलसाइन जेटी ६१० भएको विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो ।
उडान भरेको केही समयमा विमान सम्पर्कविहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो । घटनामा हताहती र जीवित यात्रुबारे केही जानकारी प्राप्त भएको छैन ।
उक्त विमान नयाँ बोइङ ७३७ म्याक्स ८ थियो । ‘विमान ३०–४० मिटर गहिरो समुद्रमा खसेको छ,’ खोजी तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफल लतिफले एएफपीसँग कुरा गर्दै भने, ‘हामीले अझै विमानको भगनावशेस खोजी गरिरहेका छौँ ।’
पत्रकार सम्मेलनमा विमानमा १७८ वयस्क, एक शिशु र दुई बालबालिका, दुई पाइलट तथा ५ क्याबिन क्रु रहेको जानकारी दिइएको छ । यद्यपि, विमानमा सवार संख्याबारे विभिन्न रिपोर्टहरु आइरहेका छन् ।
जेटी ६१० जकार्ताबाट स्थानीय समयअनुसार विहान ६:२० मिनेटमा उडेको थियो ।