काठमाडौँ भाद्र १ : सरकारले दल समन्धी अध्यादेश ल्याएपछि एमाले विभाजनको लागि अन्तिम तयारी गर्दै माधव नेपालले आफू निकटका केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। माधव नेपाल पक्षले विभाजनका लागि तयारी अवस्थामा रहन निर्देशन दिँदै आफू निकटका सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन्।
अध्यक्ष केपी ओलीले एकलौटी विधान संशोधन अगाडि बढाएर पार्टी एकताको ढोका करिब बन्द गरेको निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ विकल्पका लागि आन्तरिक परामर्श सुरु गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेले केन्द्रीय कमिटीको सङ्ख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ। एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गराएको हो।
२०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ। २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको छ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउने गरी अध्यादेश जारी गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो। एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ।