-
वसन्त भुजेल
भनिन्छ समाजमा रहेका विकृति, विसंगति र कुरिति अन्त्य गर्नका लागि माथिल्लो पद र समाजसेवा गर्नका लागि धन चाहिन्छ भनेर तर त्यो कुरालाई ठाडै चिरफार गर्न सफल भएकी छिन् गोरखाकी ३१ वर्षीय रेखा तामाङ । विकृति, विसंगति हटाउनका लागि जागरण ल्याउनुपर्छ र समाजसेवा गर्नका लागि धन होइन मन चाहिन्छ भन्ने सोच राखेर विगत पाँच वर्षदेखि निरन्तर लागिपरेपकी रेखा एक उदाहरणीय युवा महिला समाजसेवी हुन् ।

यो पंतिकारले उनलाई राम्रोसँग बुझेको र चिनेको झण्डै डेढ दुई वर्ष अघि मात्रै हो । गोरखाको गण्डकी गाउँपालिका फुजेलका चारजना अपाङ्ग परिवारको लागि सहयोगको हात बढाएको खबर प्राप्त गरेपछि मात्रै मैले रेखालाई चिन्ने अवसर प्राप्त गरेकी हुँ । चारजना मध्ये दुई जना दाजुभाई मात्रै जिवित रहेका फुजेलका ति दुई दाजुभाई भुजेललाई रेखाले अनेक हार गुहार गरेर बनाएको अपाङ्गमैत्री घरको उद्घाटन कार्यक्रममा आफू समेत सहभागी हुन पाएपछि अझ बढी चिन्ने मौका पाएको हुँ ।

२०४६ साल कात्तिक २३ गते आमा फूलमाया र बाबु गंगाबहादुर तामाङको कोखबाट जन्मीएकी रेखा जब आफू स्वयम् घरेलु हिंसाको शिकार भईन त्यसपछि उनले अन्याय अत्याचारको बिरोध गर्दै अपाङ्ग असहायको सेवा गर्ने मातृभूमिको कसम खाएर समाजसेवाको राजमार्गमा दौडिन थालेकी हुन् । उनी एमाले निकट युवा संघबाट राजनीतिमा प्रवेश गरेपछि उनको विषयमा टिका टिप्पणी गर्ने नभएका होइनन् । उनले गरेको परिश्रम र मेहनतको प्रत्यक्ष देखेका थुप्रै समुदायले रेखाको प्रशंसा गर्न थालेपछि उनको विषयमा कुरा काट्नेहरु विलिन हुन पुगे ।
सानै उमेरदेखि खरो स्वभाव र विद्रोही भावना भएकी रेखाको जिवनी अहिले समाजसेवामै सकृय भइरहेको छ । एक सन्तानकी आमा समेत रहेकी रेखाले सन्तान प्रतिको कर्तव्यलाई पनि उत्तिकै जिम्मेवारका साथ निर्वाह गरेकी छिन् । रेखा कसैकी छोरी मात्रै नभएर बुहारी पनि हुन् । उनले जन्म घर र कर्म घर दुबैको इज्जत मात्रै नराखेर कुल र मुलको शिर उचो पार्ने काम गरेकी छिन् । आफ्नो दैनिकीलाई समाजसेवाको व्यस्ततासँगै चर्खामा घुमाइरहेकी रेखाले पद, पैसा, पावर र प्रतिष्ठाको लागि जस्तोसुकै हर्कत गर्ने गरिन्छ भन्ने कुरालाई पनि राम्रैसँग बुझेकी छिन् । रेखाले पद, पैसा, पावर र प्रतिष्ठा केही होइन भन्ने सुखानीभुती राखेर हिडेकै कारण आज गोरखा फजेलका भुजेल परिवारले खुला आकाशबाट छाना भित्रको सुन्दर घरमा रमाउन पाएको छ । यो पंतिकार स्वयम् भुजेल भएका कारण केही गर्न नसकेपनि यिनै रेखाले आँखा खोलिदिएका कारण सानो भएपनि सहयोग गर्न पाएकोमा रेखालाई स्यालुट गर्न चाहान्छु ।

रेखाले जसरी चित्त शुद्धिका लागि समाजसेवा गरेर आनन्दित भएकी छिन् त्यसको दाँजोमा समाजसेवाको नाममा विदेशी डलरमा रमाउँदै मेवा खाने कथित समाजसेवी उनका अगाडी टिक्न र बिक्न सक्दैनन् । नैतीकताको खडेरी परेको बेला मान्छे हरेक कुरामा स्वार्थ मात्रै हेर्न थाल्छ । तर रेखाको समाजलाई चेतना जगाउने कृयाकलाप प्रशंसनीय छ । मान्छेहरु खेतको झार गोडमेल गरेर बाली उत्पादन गर्छन तर आफू भित्र उम्रिएको फोहोररुपी डङ्गुर झार उखेल्न वास्तै गर्दैनन् ।
लोभ, मोह, पद, घमण्ड र डाहा जस्ता दुषीत झारले हाम्रो हृदयमा सत्कार्यको भावना उम्रन बाधा गरिरहेका छन् । त्यही झार उखेल्न नसकेर हामी दुःखी छौं भने यि कलकलाउदी उमेरकी रेखाले आफ्नो मानको झार उखेलेर समाजमा रहेको विकृतिको झार उखेल्दै अपाङ्ग असहायको सेवा गर्दै हिडेकी छिन्, त्यो नै सबैभन्दा ठूलो कर्म र धर्म हो ।
थुप्रै महिला आफू स्त्री लिङ्ग भएकै कारण पीडित भएको बताउँदै आएका छन् र भन्छन पनि छोरीको जन्म हारेको कर्म भनेर । तर यो चिन्तनलाई रेखाले गलत सावित गरिदिएकी छिन् । अधिकार भन्ने नाचेर होइन लडेर लिनुपर्छ भन्ने उनको भनाई मलाई सारै चित्त बुझेको छ । कुनै बेला छोरा पाए खसी छोरी पाए फर्सी भन्ने नभएको होइन तर अब यस्ता कहानी गलत भइसकेको रेखाको भनाई छ ।

महिला कतिपय कुरामा पुरुष भन्दा कोमल हुन्छन् त्यो धुर्वसत्य कुरा हो । बच्चा जन्माउँदा, हुर्काउँदा हरेक क्षण क्षणमा पीडामा हुन्छन्, त्यो पनि सत्य हो । प्रसवपीडामा मृत्युवरणको मुखैमा पुगेको अवस्थामा पनि जब बच्चाको रोदन सुन्छन् त्यसैबेला सबै पीडा बिर्सेर हास्न सक्ने क्षमता महिलामा मात्रै हुन्छ । त्यस्तो पीडामा हाँस्न सक्ने महिला कुन कुरामा चिन्तित हुने भन्दै रेखाले चिन्ताले समस्या समाधान नभएर संघर्षले हुन्छ भन्ने धारणा राख्छिन् । २६ वर्षको उमेरबाट समाज रुपान्तरण गर्ने सपथ खाएर समाजसेवा तर्फ लम्किएकी रेखाले समाजिक संजाल मार्फत हार गुहार गरेर अपाङ्ग भुजेल परिवारको बासको लागि घर र नुनतेलको लागि एक लाख ९४ हजार नगद अक्षयकोष खडा गरिदिएकी छिन् । उनले कुसुन्डा परिवारलाई न्यानो कपडा देखि मृगौला पीडित नाम्चा तामाङलाई समेत सहयोग गरेकी छिन् । गोरखाकै चन्द्र ज्योती माविलाई ७८ हजार अक्षयकोष र शैक्षिक सामाग्री समेत रेखाले उपलब्ध गराएकी छिन् । एनक्लिनर्स केमिकल हाउस र कृषि उद्योगबाट प्राप्त नाफाबाट पनि उनी समाजसेवामा सकृय छिन् । म अझ एक पटक कथित समाजसेवीलाई भन्न चाहान्छु रेखाबाट देख अनि सिक । समाजसेवाको राजमार्गमा दौडिने प्रयासमा सकृय रेखालाई यो पंतिकार प्रोत्साहनका साथै पुःन स्यालुट गर्छ ।
