तनहुँ, माघ २५ : विभिन कसुरमा कैदी जीवन बिताई रहेका कैदीबन्दीहरुलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले तनहुँ जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ सीप सिकाउने तालीम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति, व्यास नगरपालिका र जिल्ला कारागारको संयुक्त आयोजनामा हिनजो बिहीबारदेखि जिल्ला कारागारभित्रै तीनमहिने तालीम शुरु गरेको छ ।
कारागार प्रमुख नारायण अधिकारीका अनुसार कैदीबन्दीको मागबमोजिम तालीम शुरु गरेको हौ
र यस्तो किसिमको तालीमले कैदीबन्दीलाई आत्मनिर्भर बनाउने अपेक्षा राखिएको बताए ।
तालीम उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सजाय अवधी काटेर बाहिर गएपछि समाजसँग घुलमिल तथा पुनःस्थापित हुन यहाँ दिइएको तालीमले सहयोग गर्ने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार विभिन्न गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका कामहरु कारागारमा पनि उपलब्ध गराउन छलफल भइरहेको जानकारी दिए । कारागारभित्र बस्दा खेर गइरहेको समय सदुपयोग गर्दै सिकिने सीपले आगामी दिनमा आयआर्जनको बाटोतर्फ डोर्याउने विश्वास व्यक्त गरेका थिए ।
कारागार सजायको थलो मात्रै नभई सुधारको थलो पनि भएकाले यस्ता तालीमले कैदीबन्दीको आचरण सुधारमा समेत सहयोग पुग्ने प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।