काठमाडौं, पुस ३० : सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग गरेका हुन् ।
भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएका शुभकामना सन्देश राजदूत याङछीले सभामुख महरालाई हस्तान्तरण गरेका थिए ।

सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताएका छन् । दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको बताए ।
नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ, ‘दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको सभामुखले जिकिर गरे ।
नयाँ चिनियाँ राजदूतको रुपमा नेपाल आएका याङ्छीलाई स्वागत व्यक्त गर्दै सभामुख महराले कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

चीनले नेपालको जलविद्युत, पर्यटन, सडकलगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरेका छन् ।
चीनले शुरु गरेको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे ।
चीनको सहयोगले नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वास रहेको भन्दै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग चाँडै बन्नेमा विश्वस्त रहेको बताए ।
सभामुखसँगको भेटमा राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताए । उनले आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन एवं नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताए ।
राजदूत याङ्छीले वेल्ट एण्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।