सभामुख महरासँग उत्तरकोरियाली राजदूत किमको बिदाई भेट

रिपोर्ट नेपाल | 2018 Nov 26 | 07:22 pm 2154

काठमाडौं, मंसिर १० :  सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तरकोरियाली राजदूत किम योङ हाकले बिदाई भेट गरेका छन् । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी उत्तरकोरिया फर्किन लागेका राजदूत हाकले आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा बिदाई भेट गरेका छन् ।

भेटमा दुई देशबीचको सम्बन्ध, नेपाल बसाइको क्रममा भएका उपलब्धि, आफ्नो आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठनलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख महराले नेपालको चार वर्षे कार्यकाल सफल रुपमा बिताएकोमा राजदूत हाकको प्रशंसा गरेका थिए । कोरियाली प्रायद्वीपमा पछिल्लो चरण भएको शान्तिपूर्ण कदमको प्रशंसा गर्दै सभामुख महराले विश्वशान्तिका लागि उक्त परिघटना ठूलो भएको बताए ।

सभामुख महराले नेपाल–कोरिया संसदीय मैत्री समूह छिट्टै गठन गर्ने बताउनुहुँदै मैत्री समूह गठनले दुई देशको सम्बन्ध विस्तारका थप योगदान हुनुका साथै एक–अर्काको अनुभव आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

भेटका क्रममा राजदूत हाकले आफू नेपालमा ४ वर्ष ९ महिना पूर्णतः सफलतापूर्वक बिताएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सभामुखसहित सबै नेपालीलाई धन्यवाद व्यक्त गरे ।

४ वर्ष ९ महिना बिताएका राजदूत हाकले सभामुख महरालाई उत्तरकोरिया आउन आग्रह गर्दै भने ‘म सन्तुष्ट भएर फर्किदैछु, अर्को भेटमा तपाईंलाई म कोरियामा स्वागत गर्न पाउँछु भन्ने आशा लिएको छु ।’

राजदूत हाकले कोरियाले सो अवसरमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गरे ।

भेटवार्तामा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, संघीय सचिवालयका सचिव डा भरतराज गौतमलगायतको उपस्थिति रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.