सभापति देउवा र बरिष्ठ नेता पौडेल पक्षको बैठक छुट्टाछुट्टै

रिपोर्ट नेपाल | 2020 Jan 02 | 01:54 pm 1493

काठमाडौं, पुस १७: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन र संस्थापन इतरको बैठक छुट्टा–छुट्टै स्थानमा बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २ बजे केन्द्रीय कार्यालयमा बोलाएका छन् भने संस्थापन इतरको बैठक महामन्त्री सशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने भएको छ ।

केन्द्रीय समितिको बैठक राष्ट्रियसभा सदस्य निर्वाचनको विषयमा छलफल गर्नका लागि बोलाइएको पार्टी कार्यालय सानेपाले जनाएको छ ।

तर, पुस ११ गते संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णय नसच्याएसम्म बैठकमा सहभागी नहुने बताउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अलगै छलफल गर्ने तयारी गरेको हो ।

हिजो बोलाइएको पदाधिकारी बैठक पनि असन्तुष्ट समूहले बहिष्कार गरेको थियो । महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थामा नेतृत्व बाँडफाड, विभाग गठन, क्रियाशील सदस्यतको नाम र संख्या लगायतका विषयमा दुई पक्षबीच विवाद छ ।

विवादकै कारण मंसिर २६ बाट बोलाइएको बैठकमा संस्थापनइतरका केन्द्रीय सदस्यहरू अनुपस्थित रहँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.