काठमाडौं, असार ८: गत मंगलबार देखि हेटौडामा संचालित नेपाली कांग्रेसका सभापितहरुको भेला सभापतिले बोल्ने प्रकृया सम्पन्न नभए पछि आज शुक्रबार सम्म चल्ने भएको छ ।
नेपाली कांग्रेसका विरलै हुने यस्ता भेलाहरुमा यस अघि नेताका अगाडी कार्यकर्ताहरु गरुडका अगाडी सर्प परे झै हुन्थे । यस पटक हेटौडामा भएको भेलामा जिल्ला सभापतिहरु बाघ र नेतृत्व बिरालो भएको अवस्था छ ।
सभापति शेरबहादुर देउवा माथि रामचन्द्र पौडेल, कृष्ण सिटौला गुटका सभापतिले मात्रै नभएर आफ्नै गुटका सभापतिले समेत आक्रमक शैलीमा आक्रोश पोखे ।
विगतमा देउवा माथि साच्चिकै अन्याय भएको होकी उनी आएपछि पार्टीमा काखा र पाखाको राजनीति नगर्लान भनेर १३ औं महाधिवेशनमा खुलेर सहयोग गरेकाहरुले पनि यो भेलामा देउवालाई असफल भन्न छाडेनन् ।
देउवाले पनि विगतका सभापतिको निरन्तरता दिएको भन्दै चर्को आलोचना भई रहदाँ देउवाको कोटरीबाट सधै एकछत्र फाइदा लिइरहेका बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्र बहादुर कार्की कसैले रक्षा कवज गर्न सकेनन् ।
जिल्ला सभापतिहरुको आक्रोशलाई सभापति देउवाले टुलुटुलु हेर्ने बाहेक केहि गर्न सकेका छैनन् । देउवालाई बरु १३ औं महाधिवेशनमा रामचन्द्र प्यानलबाट महामन्त्री बनेका सशांकले थोरै भएपनि ढाकछोप गर्ने प्रयत्न गरे ।
१३ औं महाधिवेशनमा खुलेर सहयोग गरेका नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले त देउवाको नेतृत्वले कांग्रेसलाई जण्डीसको रोगी बनाएको आरोप समेत लगाए ।
उनले त्यति मात्र होइन देउवाले च्यापेर राखेका गणेश प्रवृत्तिका धुपौरेहरुलाई आगामी महाधिवेशनमा जिल्लाबाट निर्वाचित भएर आउन चुनौति दिए ।
कैयौ जिल्ला सभापतिहरुले वर्तमान सत्तासिन पार्टीले ल्याएको निति तथा कार्यक्रमलाई नेतृत्वले मौन समर्थन गरेर सर्वसम्मत पास गराएको आरोप समेत लगाए ।
२०५१ सालमा आफ्नै पार्टीका सांसदका कारण निति तथा कार्यक्रम फेल भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएको कुरालाई वर्तमाना नेतृत्वले विर्सिएर कम्युनिष्टहरुको निति तथा कार्यक्रम पास हुन दिएको समेत बताएका थिए ।
सभापति देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल समेतले देउवाको आलोचना गरेका थिए । टिकट वितरण गर्दा देखाइएको रबैया र त्यसबेलाको गलत कृयाकलापका कारण कांग्रेस पराजय भएको मल्लले आरोप लगाउँदा देउवाले सुनेर बस्ने बाहेक अर्को विकल्प थिएन ।
सधै शेरबहादुर देउवा माथि कोइराला परिवारबाट अन्याय भयो भन्दै वकालत गर्ने स्याङ्जाका कमल पंगेनीले समेत देउवाको रक्षा कवज गर्न चाहेनन् ।
उनले प्रष्ट भाषामा नेतृत्व धेरै ठाँउ चुकेकोले आलोचना भन्दा पनि समालोचना गरिएको बताएका थिए । हरेक निर्णय गर्दा बुढानिलकण्ठको एउटा बन्द कोठामा बसेर प्रकाशशरण महतहरुले गलत सल्लाह दिएका कारण नेपाली कांग्रेस जस्तो ऐतिहासिक र सशक्त पार्टी आज किन यो अवस्थामा आयो र देउवा जस्ता निर्वाचित सभापति किन निरिह हुनुपर्यो विश्लेषण गर्न जरुरी छ ।
सभापति देउवाले भदौ सम्ममा एउटा ठोस कार्यक्रम लिएर विगतका गल्तीलाई आत्मालोचना गरेर अघि बढेनन् भने महासमिति बैठकमा यो भन्दा बढी आक्रमक सहनु पर्ने कुरा निश्चित प्राय छ ।