–महेन्द्र पाण्डेय
‘प्रश्न एक उत्तर अनगिन्ती’ के हो ? भन्ने यो गाउँखाने कथा कसैले सोध्यो भने हाम्रो नयाँ पुस्ताले दिने जवाफ हो –‘नेपालका राजनीतिककर्मीहरुको धन्दा ।’ हुन पनि मान्छेहरु राजनीतिमा केका लागि लाग्छन् ? भन्ने प्रश्न निकै पेचिलो हुने गरेको छ । किनकी यो प्रश्नको उत्तर एउटै छैन । नेपालको सन्दर्भमा हेर्ने हो भने यो प्रश्नका उत्तरहरु अनगिन्ती छन् । राजनीति कर्ममा जति जना नेपालीहरु संलग्न छन् त्यति नै उत्तर छन् यो प्रश्नका ।
चलन चल्तीको सामान्य भाषामा भन्नु पर्दा राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा आफै पुग्न वा नीति निर्माण तहलाई प्रभावित पार्न जनतावीच बसेर गरिने कर्म नै राजनीति हो । तर यो परिभाषा सप्रिएका मुलुकहरुका लागि हो । हाम्रो जस्तो विग्रेको मुलुकमा राजनीतिमा संलग्न हुनेहरु दुई प्रकारका छन् । एक प्रकारका मानिसहरु जनतालाई साच्चिकै सेवा दिने प्रयत्नका लागि राजनीतिमा लागेका छन् । अर्काथरी मानिसहरु अन्य पेशा या व्यवसायमा असक्षम भएकोले छिटो धनसम्पत्ति कमाएर समाजमा सान सौकत देखाउन राजनीतिमा लागेका छन् ।
यति मात्रै होइन कोही विदेशीका एजेण्डा कार्यान्वन गर्नका लागि राजनीतिमा लागेका छन्, कोही स्वदेशी माफियाका एजेण्डा कार्यन्वयन गर्नका लागि राजनीतिमा लागेका छन् । विदेशीका एजेण्टहरु पनि एक थरी मात्रै छैनन् । कोही भारतीय छन्, कोही चाइजिन छन्, कोही अेरिकी छन् कोही युरोपेलीहरुका छन्, कोही पाकिस्तानका छन्, कोही खाडी मुलुकका छन् । यति सम्मकी उत्तर कोरियाका एजेण्टहरु समेत नेपालमा राजनीतिकर्मीका रुपमा सक्रीय छन् ।
भारतीय एजेण्टहरुको प्रकृति पनि फरक फरक छ । कोही गुप्चचर संस्था ‘रअ’का एजेण्ट छन्, कोही विभिन्न धार्मिक पार्टी तथा संघ संगठनका एजेण्ट छन् । स्वदेश भित्रै पनि कोही दरवारका एजेण्ट छन्, कोही सेना तथा प्रहरीका एजेण्ट छन् । कोही म्यानपावर व्यवसायीका एजेण्ट छन् कोही निर्माण व्यवसायीका एजेण्ट छन्, कोही तस्करका एजेण्ट छन्, कोही बालबालिका तस्करीका एजेण्ट छन्, कोही क्रसर व्यवसायीका एजेण्ट छन् । कोही ठुला उद्योगपतिहरुका एजेण्ट छन् । जसका कारण नेपालको राजनीति अत्यन्त बद्नाम भएको छ ।
वास्तवमा भन्ने हो भने राजनीति शास्त्रले गरेको परिभाषा अनुसारका राजनीतिकर्मीहरु नेपालमा औंलामा गन्न सकिने भन्दा बढी छैनन् । राजनीति भनेको जनताको सुख दुःखमा सहभागी बन्नु हो भन्ने मान्यतालाई आर्दशको रुपमा अघि बढाउने राजनीतिकर्मीहरुको खडेरी पर्दै गएको छ । नक्कली सिक्काको विगविगी भयो भने सक्कली सिक्का प्रति समेत मान्छेको विश्वास हराउँछ । कतै नेपालको राजनीतिमा पनि इमान्दर र फटाहहरुलाई एउटै डालोमा राखेर विश्लेषण गरिने दुर्भाग्यका दिन सुरु हुने त होइनन् ? भन्ने प्रश्न खडा भएको छ ।
प्रसंग नेपाली राजनीतिका उज्जल नक्षत्र मोहनबहादुर बस्नेतको हो । उनको सन्दर्भ चर्चा गर्नु अघि सिन्धुपाल्चोकबासीले पाएको दुःख कष्ट तथा यसको पृष्ठभूमी उल्लेख गर्नु सान्दर्भीक हुन्छ । विगत सात वर्षदेखि सिन्धुपाल्चोक जिल्लाले अत्यन्त कष्टकर प्राकृतिक विपत्ति बेहोर्दै आएको छ । जुरेको पहिरोबाट सुरु भएको यो विपत्ति यतिबेला मेलम्चीको बाडीसम्म आइपुगेको छ । जुरेको पहिरो देखि अवरुद्ध भएको तातोपानी नाका अहिलेसम्म सुचारु हुन सकेको छैन । तातोपानी नाका सिन्धुपाल्चोक जिल्लाबासीको मुटुको ढुकढुकी थियो । यो नाका प्रभावित हुँदा धेरैको उठिबास भएको छ । हज्जारौंको रोजगारी गुमेको छ । जुरे पहिरोपछि विनाशकारी भूकम्प, भोटेकोशीको बाडी लगायत सृंखलावद्ध रुपमा अन्य विपत्तिका कारण तातोपानी नाका लयमा फर्कन सकेको छैन । भुकम्पले चिरा चिरा परेको सिन्धुपाल्चोकको धर्ती सामान्य वर्षा हुँदा पनि पहिरो जाने गरेको छ । पहिरोका कारण नदी तथा खोलाहरुले आसपासको वस्ती तथा खेतियोग्य जमिन बढार्न थालेको छ ।
विगत आठ वर्षको तथ्यांक हेनेहो भने नेपालको ७७ जिल्लामध्ये सबै भन्दा पिडित सिन्धुपाल्चोक जिल्ला हो । जब जब संकट पर्छ तबतब म मान्छेको रुपमा अवतरित भएर संकट मुक्त गर्नेछु भनेर भगवान श्रीकृष्णले भन्नु भएको छ । भगवान श्रीकृष्णको यो भनाई सिन्धुपाल्चोक जिल्लामा सत्य सावित भएको पो होकी जस्तो देखिन्छ । जब जव सिन्धुपाल्चोक बासी संकटमा पर्छन तब तब मोहनबहादुर बस्नेत नाम गरेका एक जना मानव उद्धार तथा राहत सामाग्री लिएर तत्काल तैनाथ हुन्छन् । स्वरुप मान्छेको जस्तो तर काम भगवानको जस्तो ।
बस्नेतले निर्वाह गरेको मानवीय कर्तव्य प्रति राजनीति गर्नेहरुले इष्र्या गर्नु स्वभाविकै हो । किनकी नेपालमा कस्ता कस्ता मान्छे राजनीतिमा संलग्न छन् ? भन्ने कुरा माथि नै उल्लेख गरिएको छ । तुच्च स्वार्थका लागि राजनीति गर्नेहरुले मोहन बस्नेतले निर्वाह गरेको कर्तव्यलाई चुनावमा भोट बढाउने मेलो भन्दै टिप्पणी पनि गरेका छन् । यदी भोट पाउनकै लागि गरेका रहेछन् भने पनि कुनै आपत्ति जनक कर्म होइन । जनताको मन जितेर मत लिनु लोकतन्त्रवादीको धर्म नै हो । तर तुच्च स्वार्थ ओकेल्नेहरुको भनाईलाई कतिपय मिडियाले समेत साथ दिएको तथा केही व्यक्तिहरु लहै लहैमा लाग्दै –‘हो हो मोहन बस्नेतले भोटका लागि नै राजनीति गरेको हो।’ भन्ने समेत हामै्र समाजमा देखिए ।
यी डेढ अक्कलीहरुले मोहन बस्नेतको विगत चिनेकै रहेनछन् । मोहन बस्नेतले चुनावी राजनीति गर्न थालेको त २०४६ सालको परिवर्तनपछि मात्रै हो । त्यस अघि नेवि संघको नेताका रुपमा बस्नेतले आफू पैदा भएको धरतीका लागि के के योगदान गरेका थिए ? भन्ने कुरा थाहा पाउनेहरु अहिले पनि उल्लेख्य छन्, तर उनीहरु समेत बोल्दैनन् ।
पंचायतकालको त अँध्यारो युगमा नेपाली कांग्रेसमा लागेर राजनीति गर्ने भनेको संघर्षै संघर्षमा जीवन समाप्त पार्नु हो भन्ने थियो । छिटै प्रजातन्त्र आउला, चुनाव लडेर मन्त्री बनौला भन्ने कल्पना समेत गर्न नसकिने अवस्थामा संघर्षपूर्ण राजनीति गरेका पात्र हुन् बस्नेत । त्यतिबेला नेविसंघ मार्फत नेपाली कांग्रेसको पूर्णकालिन राजनीतिमा लाग्नेहरुको संख्या उल्लेख्य थियो । तर अधिकांश सडकमा नारा जुलस निकाल्ने, कालोटोपी वीचमा भाँचेर लगाएर जय नेपाल भन्दै हिँड्ने, विश्व विद्यालयको परीक्षमा फेल भइरहने, पास भए पनि तेस्रो डिभिजन ल्याउने कोटीमा थिए । त्यतिबेला पनि मोहन बस्नेत आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकका जनता सँग प्रत्यक्ष जोडिएका थिए । उनले राजधानी काठमाडौंमा निशुल्क रुपमा सिन्धुएकता कोचिङ सेन्टर चलाएका थिए । जहाँ विद्यार्थीहरुलाई स्तरीय शिक्षा दिइन्थ्यो । कमजोर विद्यार्थीलाई काठमाडौंमा ल्याएर कोचिङ पढाउने र फलामको ढोका मानिने एसएलसी उत्तिणर््ा गराउने अभियान उनले अघि बढाएका थिए । यस्ता विद्यार्थीलाई एसएलसी पास गराउने मात्रै होइन , काठमाडौंमा बसेर उच्च शिक्षा आर्जन गर्नका लागि रोजगारीको व्यवस्था मिलाउने काम समेत उनले गर्थे । सिन्धुपाल्चोकमा राजनीति गरिरहेका पशुपति शमशेर राणा, नेत्रविक्रम थापा समेत बस्नेतसँग आथ्थु आथ्थु बनेका थिए । मण्डलेहरुबाट बस्नेत कति पटक भौतिक आक्रमण मा परे ? कति पटक मृत्युशैयाबाट फर्के ? भन्ने कुराको कुनै लेखा जोखा नै छैन ।
यदी भोटकै कुरा गर्ने हो भने बस्नेतले पंचायतकालको त्यो घडीमा जे जतिको उद्धार गरेका छन् तिनका परिवारले मात्रै साथ दिए पनि चुनाव जित्न अप्ठेरो छैन । यदी निश्पक्ष चुनाव हुने हो भने सिन्धुपाल्चोकमा मोहन बस्नेतले उम्मेदवारी दिए मात्रै पुग्छ । मत माग्न पनि जानु पर्दैन । तर पीडित जनताको उद्धार तथा राहतमा संलग्न हुँदा पनि भोटको राजनीति गरेको टप्पणी गर्ने डेढ अक्कलीहरुकाबारेमा यहाँ भन्दा थप लेख्नु कागज र कलमको दुरुपयोग हो । सक्कली सुनलाई कसी लगाउनु पर्दैन भने झै मोहन बस्नेतका बारेमा पनि धेरै लेखिरहनु जरुरी छैन । आफ्ना कामहरुको प्रचार नरुचाउने पुरानो बानी मोहन बस्नेतमा यथापत रहेकोले पनि उनका विपक्षीहरुलाई सहज भएको छ । युधिष्ठिरको सत्यवादिता दुर्योधनहरुका लागि अवसर भए जस्तै मोहन बस्नेतको सोझोपनको फाइदा कम्युनिष्टहरुले उठाइरहेका छन् ।