डोटी, कात्तिक २०ः ‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण अघि बढाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्। लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच गत भदौ २ गते पश्चिम सेती जलविद्युत् आयोजनासँगै सेती–६ को सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको सम्झौतासँगै पश्चिम सेती निर्माण हुने अपेक्षाका साथ उम्मेदवारले चुनावी अभियानमा यही विषयलाई प्राथमिकतामा राखेका छन्।
सत्ता साझेदार गठबन्धनका उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रेमबहादुर आलेले प्रधानमन्त्री देउवाकै उपस्थितिमा सम्भाव्यता अध्ययन सम्झौता भएको र यसको निर्माण प्रक्रिया अघि बढाउन गठबन्धनले जित्नुपर्ने बताए। उनले भने, “४० वर्षअघि नै सन् १९८० मा फ्रेन्च कम्पनी स्रोग्रेह कन्सल्टेन्टले सुरु गरेको पश्चिम सेती जलविद्युत् आयोजना अध्ययन अब पूरा हुन्छ। त्यसपछि यही गठबन्धन सरकारले पश्चिम सेती निर्माण सम्पन्न गर्छ।”
नेकपा (एमाले)का प्रतिनिधि सभा उम्मेदवार एवं नेत्री गौरीकुमारी ओलीले पनि आफ्नो चुनावी मुद्दा पश्चिम सेती नै बनाएकी छन्। सरकारले सन् २०१२ मा चिनियाँ कम्पनी सीटीजीआईलाई निर्माण गर्न दिने सम्झौता गरे पनि काम अघि बढेन। प्रस्तावित सेती पश्चिम ७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना बन्नेछ। यसको कुल लागत एक अर्ब ३२ करोड अमेरिकी डलर प्रारम्भिक अनुमान गरिएको छ।
पूर्वमन्त्री आले २०७४ को निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ३२ हजार ५१० मत प्राप्त गरी निर्वाचित भएका थिए। कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले ३० हजार ८७८ मत पाएका थिए। स्थानीय तह निर्वाचनमा डोटीमा कांग्रेस पहिलो दल भएको छ। कांग्रेसले ३४ हजारभन्दा बढी मत पाएको छ। एकीकृत समाजवादीले तीन हजार दुई सय मत पाएको थियो। कांग्रेसले नौमध्ये सात पालिका र माओवादी केन्द्रले दुई पालिका जितेको छ। सत्ता गठबन्धनका उम्मेदवार आलेले भने, “सत्ता गठबन्धनको मत भार बढी छ। साथै एमालेका साथीहरूले पनि मलाई साथ दिएका छन्, त्यसैले डोटीमा प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिटमा गठबन्धनले जित्ने निश्चित छ।”
२०७० को संविधान सभा निर्वाचनमा डोटी क्षेत्र नं. २ बाट निर्वाचित नेता आले २०६९ मा अखण्ड सुदूरपश्चिम आन्दोलनको अगुवाइ गरेका थिए। उनले भने, “समुन्नत डोटीको सङ्कल्प पूरा गर्ने लक्ष्यअनुसार मैले उम्मेदवारी दिएको हुँ, एमालेको ठूलो मत मलाई आउँछ। गठबन्धनको बलियो साथ छँदै छ।”
कांग्रेस नेता एवं गठबन्धनका प्रचार प्रसार समिति संयोजक भरत खड्काले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिट जित्ने बताए। उनले भने, “पार्टीको निर्देशनअनुसार सम्पूर्ण नेता–कार्यकर्ता गठबन्धनका उम्मेदवारलाई जिताउन खटिएका छन्। पार्टीभित्र आन्तरिक एकता भएपछि चुनावी अभियान तीव्र रूपमा अघि बढेको छ।” एमाले उम्मेदवार ओलीले महिलाको मत तान्ने प्रयास गरिरहेका छन्। तर पार्टीभित्र आन्तरिक विवाद र फुटको असर आफ्ना लागि चुनौती रहेको उनी बताउछन्। उनले भने, “मतदातामाझ जाँदा प्रतिक्रिया राम्रै छ तर पार्टी विभाजनले केही मत तल–माथि हुन्छ कि भन्ने चिन्ता छ।”
अन्य उम्मेदवार पनि प्रचारमा
डोटीमा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायर, राप्रपाका अङ्कबहादुर खड्का तथा स्वतन्त्रमा नरेन्द्रबहादुर खड्का र राजप्रसाद जोशीले उम्मेदवारी दिएका छन्।
प्रदेश सभा (क)मा सत्ता गठबन्धनका कांग्रेस डोटी सभापति नरेन्द्रबहादुर सिंह, एमालेका अध्यक्ष चक्रबहादुर मल्ल, हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राप्रपाका नेत्र नाथले उम्मेदवारी दिएका छन्।
प्रदेश सभा (ख)मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिवसिंह ओली, एमालेका टेकबहादुर बम र राप्रपाका मोहनबहादुर बमले उम्मेदवारी दर्ता गरेका छन् । माओवादी नेता ओलीले भने, “चुनावी प्रचार प्रसार तीव्र रूपमा अघि बढिरहेको छ, सबै दलका उम्मेदवार चुनावी अभियानमा हुनुहुन्छ, सत्ता गठबन्धनका उम्मेदवारहरू पनि गाउँगाउँमा मतदातासँग भेटघाटमा छौँ।” गाेरखापत्र दैनिकबाट