सबैको एउटै लक्ष्य आर्थिक विकास र समृद्धि : उपप्रधानमन्त्री पोख्रेल

रिपोर्ट नेपाल | 2018 Oct 07 | 04:18 pm 2297

दमौली, २१ असोज  : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आर्थिक विकास र समृद्धि सबै पार्टीको साझा लक्ष्य भएको बताएका छन् । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व केवलबहादुर श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा आज दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा रक्षामन्त्री पोख्रेलले आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, “जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक समृद्धि र विकासको लक्ष्य बनाउनुपर्छ ।” नौ-नौ महीनामा सरकार ढल्ने दुर्भाग्य सिलसिलाबाट नेपालले मुक्ति पाएको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री पोख्रेलले अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्नु नपर्ने बताए ।

आर्थिक समृद्धिका लागि सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै उनले आर्थिक समृद्धिका लागि सहकार्य र सहमतिमा जोड दिए। “हामीले प्रतिस्पर्धा राजनीतिमा ग¥यौँ, प्रतिस्पर्धाको परिणाम पनि हामीले पायौँ,” उनले भने, “अब विकास र निर्माणका लागि साझा सहमति र सहकार्य गर्ने, एकताबद्ध भएर अघि बढ्ने अर्को बाटो हुन सक्दैन ।”

जनतासँग कबुल गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने उपप्रधानमन्त्री पोख्रेलले बताए । “अहिले यतिबेला सबै कुरा सलल बगेको जस्तो देखिएन भनेर अन्यथा लिनु जरुरी छैन,” उनले भने, “हिजो चुनावका बेलामा जुन प्रतिबद्धताहरु गरेका थियौँ, ती सबै कुरा पूरा गर्छौं ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.