सप्तरी,असोज १४ । सप्तरीमा एक नाबालकलाई वडा अध्यक्षको उपस्थितिमा मरणासन्न हुने गरी कुटपिट गरिएको छ।
रुपनी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष सरोज कुमार यादवको आफन्त ४९ वर्षीय देव कृष्ण यादव निजका श्रीमती फूलबारी देवी र निजका छोरा ३० वर्षीय महेश यादवले मादक पदार्थ सेवन गरी वडा अध्यक्ष यादवको निर्देशनमा यही असोज ९ र १० गते सोही वडाका १३ वर्षीय बालक मिलन साहलाई घर अगाडिको सडकबाट समाति गम्छाले हात खुट्टा बाधी नियन्त्रणमा लिई लाठी, फाइटर, छुरा लगायत घरेलु हतियारले प्रहार गरी अनुहार लगायत शरीरको विभिन्न भागमा कुटपिट गरेका हुन् ।
साहलाई लाठी र बुटले टाउको,छाती पिठ्युँ, ढाड,कमरमा कुटपिट गरी घाइते बनाएका छन्। घट्नाबारे ईलाका प्रहरी कार्यालय रूपनीमा खबर गर्दा प्रहरीले वडा अध्यक्ष यादवको दबाबमा कुनै कारबाही नगरेको पीडित पक्षको गुनासो छ। पहिलो दिन सार्वजिक स्थल सडकमै सामान्य बिबादमा निज महेश यादव, देव कृष्ण यादवले घाँटी समाति कुटपिट गरेको र सो विषयमा ईलाका प्रहरी कार्यालय रूपनीमा तत्कालै खबर गर्दा प्रहरी आएपनि पीडकहरु महेश यादव, देव कृष्ण यादवसँग केही रकम लिई उल्टै हामीलाई मिल्न दबाब दिई गएको पीडित पक्षले बताए ।
प्रहरीले केही गर्न नसकेपछि पीडक महेश यादवले पुन: शुक्रवार साँझ मादक पदार्थ सेवन गरी मिलन साहको आमालाई सार्वजनिक स्थलमै गाली गलौज गरेको छ । पीडित पक्षले सहने सीमा नाघेकोले बाध्य भएर न्यायका लागि सञ्चारमाध्यममा आउनु परेको बताए । घट्ना बारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपनि हालसम्म कुनै कारबाही नभएको पीडित पक्षले जानकारी दिए ।