-
कृष्ण प्रसाद सापकाेटा
यस पटक नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक निकै लामो अवधिसम्म बस्यो । गत असार २२ गते सुरु भएको बैठक विविध निर्णय गर्दै भदौ १८ गते सकियो । राज्यको आन्तरिक संरचना पछि नेपाली कांग्रेसका प्रदेश समिति, प्रतिनिधिसभा र प्रदेशसभा समिति, पालिका समिति तथा वडा समितिहरु रिक्त भएका थिए । यी समितिको अन्तरिम गठनका लागि केन्द्रीय समितिको यो बैठकले बाटो खोल्यो ।
बैठकले तयार गरेको मार्गदर्शन अनुसार प्रतिनिधिसभा र प्रदेशसभा समितिहरु गठन भइसकेका छन् । अब अरु समिति गठन हुँदैछन् । आगामी फागुन २० गते भित्र जिल्ला अधिबेशन सम्पन्न गरिसक्नु पर्ने बैधानिक वाध्यता नेपाली कांग्रेसलाई छ । केन्द्रीय समितिको यो बैठकले आगामी फागुन २० सम्म जिल्ला अधिबेशन सम्पन्न भइसक्ने मार्गचित्र तयार गरेको छ ।
वडातह सम्मको अन्तरिम संरचना गठन तथा दोस्रो चरणको जागरण अभियानलाई सँगै जोडेर लैजाने निर्णय नेपाली कांग्रेसले गरेको छ । दोस्रो चरणको जागरण अभियान गाउँ तथा नगरको टोल तहसम्म पुग्ने गरी कार्यक्रम तय गरेको छ ।
बैठकले गरेका यी निर्णयहरु हेर्दा नेपाली कांग्रेसले अव गति लिन लागेको हो कि जस्तो देखिन्छ । तर गति लिनका लागि जुन तत्वको सर्वाधिक आवश्यकता हुन्छ त्यस तर्फ भने नेपाली कांग्रेसको नेतृत्व पंक्तिले ध्यान दिन सकेको छैन । अर्थात जनता नेपाली कांग्रेस तिर किन लाग्ने त ? के का लागि नेपाली कांग्रेसलाई भोट दिने त ? भन्ने प्रश्न तर्फ भने पार्टीको नेतृत्व उदासिन देखिएको छ । उदाहरणका लागि जति सुकै तामझामको गाडी निर्माण गरिए पनि , जति सुकै महंगो इन्जिन राखिए पनि जति सुकै कुशल ड्राइभर राखिए पनि इन्धन विना त्यो गाडी एक इन्च पनि अघि बढ्न सक्दैन । राजनीतिक पार्टी पनि एक प्रकारले त्यस्तै गाडी हो ।
राजनीतिक पार्टीका लागि इन्धन भनेको विचार सिद्धान्त र एजेण्डा नै हो । जनतालाई आकर्षित गर्ने खालको विचार , सिद्धान्त तथा एजेण्डा भएन भने राजनीतिकदल अघि बढ्न सक्दैन । जति सुकै ठूलो संगठन भए पनि जति सुकै ठूला नेता भए पनि जनता आकर्षित भएनन् भने राजनीतिक पार्टीले गति लिन सक्दैन । नेपाली कांग्रेस अहिले गतिहिन हुनुको कारण यही हो ।
विचार , सिद्धान्त तथा एजेण्डा कम्युनिष्टहरुले जे बोकेका छन् , नेपाली कांग्रेसले पनि त्यही बोकेको छ । त्यसैले जनताले किन रोज्ने नेपाली कांग्रेस ? अहिलेको ज्वलन्त प्रश्न भनेको यही हो । राष्ट्रियता , लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसका आदर्श हुन् । यी आर्दशलाई नेपाली कांग्रेसले कम्युनिष्टहरुसँग सौदाबाजी गरेको महशुस जनताले गरेका छन् ।
नेपाली कांग्रेसको सिद्धान्त गणतन्त्र थिएन, तर मुलुक गणतन्त्रमा गयो । राजतन्त्र आफ्नै कारण समाप्त भएको हो । राजतन्त्रले आँफूलाई आँफैले समाप्त गरिसकेपछि गणतन्त्रको विकल्प रहेन । त्यसैले गणतन्त्र नेपाली कांग्रेसका लागि वाध्यताको उपज थियो ।
गणतन्त्रको सवालमा नेपाली कांग्रेसले जे ग¥यो , ठीकै ग¥यो , अर्को विकल्प थिएन भन्ने महशुस जनताले गरेका छन् । तर धर्मनिरपेक्षता र संघीयताको प्रश्नमा नेपाली कांग्रेस चुकेकै हो । सडकमा गएर सिधै टाउको गन्ने हो भने पनि जनता संघीयता र धर्मनिरपेक्षताको पक्षमा छैनन् ।
संघीयता र गणतन्त्रको पक्षमा जाँदा जाँदै पनि जनताले नेपाली कांग्रेसलाई मत दिने गरेको पार्टी प्रतिको मायाले हो , बाबु बाजेको पालादेखि भोट हाल्दै आएको पुरानो पार्टी छाडेर किन अन्यत्र लाग्ने ? भन्दै जनताले भोट दिने गरेका हुन् , तर त्यो पुस्ता विस्तारै अस्ताउँदै गएको छ , नयाँ पुस्ता उल्लेख्य रुपमा आएको छ । यो नयाँ पुस्ताले नेपाली कांग्रेसलाई किन मत दिने ? धर्म निरपेक्षता र संघीयतामा जाने जुन त्रुटी थियो त्यो त्रुटी सँच्याएन भने नेपाली कांग्रेसको पक्षमा जनमत बढ्ने वाला छैन् । जनमत बढेन भने नेपाली कांग्रेस फेरि पनि प्रतिपक्षमै हो ।
नेपाली कांग्रेसका संस्थापक नेता विपिको जन्म १९७१ भदौ २४ गते भएको थियो , निधन २०३९ साउन ६ गते भएको थियो । २०४० भदौ २४ गते देखि हरेक वर्ष नेपाली कांग्रेसले विपि जयन्ती विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । पंचायतकालमा पार्टी माथि प्रतिवन्ध थियो । खुला रुपमा कार्यक्रम गर्न बन्देज थियो । तर प्रहरीको धरपड सहँदै कार्यक्रमहरु गर्थ्याे ।
यस्ता कार्यक्रमले चर्चा पाउँथ्यो । नयाँ पुस्ताले विपि को हो ? किन विपिको जन्म जयन्ती मनाउन राज्यले रोक्छ ? भन्ने कुरामा चासो दिन्थ्यो । यही चासोका कारण नयाँ पुस्ताले विपिको बारेमा थप अध्ययन गर्थ्याे । तर प्रजातन्त्र पुनस्र्थापना भए पछि पनि नेपाली कांग्रेसले विपि जयन्तीका अवशरमा त्यही खालका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । विपि को हुन् ? विपिले मुलुकका लागि दिएका योगदानहरु के के हुन् ? भन्ने तर्फ भन्दा पनि रुख विरुवा रोप्ने , कार्यकर्ता भेला पारेर प्रसंगबिहीन भाषणहरु छाँट्ने , एक अर्कालाई लान्छना लगाउने जस्ता गतिविधिमै नेपाली कांग्रेस रुमलिइरहेको छ ।
धर्म निरपेक्षताको विकल्पमा रुपमा हिन्दू राज्यको अवधारणामा जाने कि ? धार्मिक स्वतन्त्रताको अवधारणामा जाने ? भन्ने सन्दर्भमा भरखर सम्पन्न बैठकमा बहस भयो । विकल्प खोज्नु पर्ने राय करिव दुई तिहाई केन्द्रीय सदस्यहरुले दिए । तर पार्टी नेतृत्वले खासै वास्ता गरेको देखिएन ।
गत पुसमा सम्पन्न महासमितिको बैठकमा पनि अधिकांश महासमितिका सदस्यहरुले हिन्दू राज्यका पक्षमा जानु पर्ने लिखित सुझाव दिएका थिए । लिखित प्रस्ताव नै टेवुल भएको थियो । २५ प्रतिशत महासमितिका सदस्यहरुले हस्ताक्षर गरेर बुझाएको प्रस्ताव छलफल तथा मतदानमा लैजानु पर्ने बैधानिक व्यवस्था छ । तर त्यो प्रस्तावलाई रद्धीको टोकरीमा फालियो । यस पटक केन्द्रीय समितिको बैठकमा पनि करिव करिव त्यस्तै भयो ।
करिव दुई तिहाई केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई एजेण्डा समेत बनाइएन । मुलुक र नेपाली कांग्रेस माथि गम्भीर षड्यन्त्र भइरहेको लक्षण हो यो । हिन्दू राज्यको अवधारणामा पार्टी जान सक्छ भन्ने भय कै कारण पश्चिमा राष्ट्रहरुको डिजाइन अनुसार महाधिबेशन टार्दै लगिएको त होइन ? भन्ने प्रश्न पनि त्यतिकै उठ्न थालेका छन् ।
यसैगरी हिन्दू राज्यको पक्षमा गतिविधि गर्ने कांग्रेसका कार्यकर्ता माथि राजावादीको आरोप लगाउन समेत थालिएको छ । यो एजेण्डा त राजापुर्नवहाली गर्ने एजेण्डा पो हो त , भन्दै दुस्प्रचार सुरु भएको छ । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने , हिन्दू राज्य कायम गरियोस् भन्ने माग राजतन्त्रवादीहरूको मात्र होइन । नेपालको राजतन्त्र त राजा वीरेन्द्रको वंशनाससँगै सकियो। त्यसको दाह संस्कार ज्ञानेन्द्र र पारसका बाबु–छोराले गरिसके । त्यसैले नेपाली जनताको एउटा टूलो हिस्सा अहिले पनि राजतन्त्र बाहेकको हिन्दू राज्यको पक्षमा छ ।
विश्वको एक मात्र हिन्दू देश हुँदा नेपालको एउटा विशिष्ट पहिचान कायम भएको थियो, निरपेक्षतापछि त्यो चिनारी हरायो । सगरमाथाको देश, बुद्ध जन्मेको देश, त्रिकोणात्मक झण्डा भएको विश्वको एकमात्र देश र हिन्दू देश यसका चिनारी थिए । हिन्दू राष्ट्रलाई जनताको इच्छा विपरीत रातारात धर्म निरपेक्ष बनाएपछि देशलाई के के नोक्सान भयो भन्ने विषयमा केन्द्रीय हज कमिटी वा कृश्चियनहरूका प्रमुख व्यक्तित्व डा . प्रेमबहादुर रोकायाका अभिव्यक्तिहरूबाट राम्ररी नै बुझ्न सकिन्छ ।
निरपेक्षता आफैमा एउटा नकारात्मक शब्द हो । त्यो भन्दा कति हो कति माथिल्लो शब्द हो– ‘धार्मिक स्वतन्त्रता ।’ विपी यही स्वतन्त्रताको पक्षमा थिए , मुलुकको पहिचान मेटाउने पक्षमा थिएनन् । नेपाली कांग्रेस भनेको विपिले जन्माएको र हुर्काएको पार्टी हो ।
विपिको मुल मन्त्र भनेकै राष्ट्रियता हो । राष्ट्रियता रहे सबै थोक रहन्छ , राष्ट्रियता नरहे केही पनि रहँदैन । नेपालको भौगोलिक अवस्थितिलाई समेत विश्लेषण गर्दा नेपालको राष्ट्रियता झन झन बलियो हुँदै जाने कडी भनेकै हिन्दूत्व हो ।
विश्वभर रहेका करिव दुई अर्ब हिन्दूहरुले माया ममता दर्शाउने वित्तिकै नेपालको राष्ट्रियता माथि कसैले औंला ठड्याउन हेप्न सक्दैन । यो कुरामा बीपि कोइराला स्पष्ट थिए । बीपि कोइरालाको १ सय ६औं जन्मजयन्तीका अवशरमा नेपाली कांग्रेसका नेताहरुले एक पटक ठण्डा दिमागले सोचुन ।