गुल्मी, चैत्र १४ : सदरमुकाम तमघासमा गर्मी बढेसँगै खानेपानीको समस्या भएको छ। सदरमुकामस्थित रेसुंगा नगरपालिकाको अन्य वडामा खानेपानी सामान्य उपलब्ध भए पनि वडा नम्बर ९ मा भने चरम अभाव रहेको छ।
अघिकांश धाराहरुमा खानेपानी नआएपछि पानीको मुहान खोज्दै हिँड्न बाध्य भएका छन्। स्थानीय बासिन्दहरु खानेपानीका लागि नगरपालिका समक्ष हारगुहार गरेका छन्। यस क्षेत्रमा दैनिक ३० हजार लिटर खानेपानीको आवश्यकता भए पनि तर नगरपालिकाले हाल १२ हजार लिटर मात्रै उपलब्ध गर्न सकेको रेसुंगा नगरपालिकाका सूचना अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिए। ‘दिनमा ३० हजार लिटरभन्दा बढी माग आउँछ तर पूर्ति गर्न नसकिएको बताए ।
छल्दीदेखि पानी ल्याउन परेको र एउटा मात्रै ट्यांकर भएकाले माग पूरा गर्न समस्या परेको बताए । नगरपालिकाले ट्यांकरबाट ल्याएको पानी प्रतिलिटर ५० पैसामा उपलब्ध गराउँदै आएको जानकारी दिए।
खानेपानीको समस्यालाई दीर्घकालीन समाधान गर्न मझेङ खानेपानीको बिकल्प नरहेको नगरपालिकाका कार्यक्रम अधिकृत विनोद मरासीनी बताए। उनका अनुसार तत्कालको समस्या समाधान गर्न ट्यांकरबाट ल्याएर प्रतिलिटर ५० पैसाका दरले पानी वितरण गर्दै आएका छौं।
नगरपालिकाका प्रवक्ता पदम अर्यालले एउटा ट्यांकरले मात्रै माग थेग्न नसकेकाले अर्को ट्यांकर थप गर्ने बताए। टाढाबाट पानी ल्याउनु पर्दा पानीको माग थेग्न नसकिएकाले नजिकमा रहेको वडा नम्बर ३ को मुहानलाई संरक्षण गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताउँदै उनले नगरबासीलाई सहज रुपमा पिउने पानीको व्यवस्था गरेरै छाड्ने दाबी गरे।