काठमाडौं, फागुन ६ : गायक तथा सर्जक पशुपति शर्माको गीतमा सरकारले प्रतिबन्ध लगाएपछि कर्णाली प्रदेशका कलाकारहरुले अर्को गित सार्वजनिक गरेका छन्।
फागुन २ गते सरकारको एक वर्ष पुगेको अवसरमा चर्चित गायक शर्माले ‘लुट सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका थिए। प्रधानमन्त्री केपी शर्माले ओलीको नेतृत्वको सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यंग्यात्मक गीत सार्वजनिक गरेपछि सरकार, नेकपा तथा शितल निवासको दबाबमा उनले युट्युबबाट शनिबार राति हटाएका थिए।
आइतबार दिउँसभरी सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भएको थियो। आइतबार बेलुका पाँच बजे माइती घरमा सोही गीत बजाउँदै प्रदर्शन गरेका थिए। लोक दोहोरी प्रतिष्ठानले एक सार्वजनिक गर्दै गायक शर्मालाई उक्त गीत फेरी युट्युबमा अपलोड गर्न आग्रह गरेको थियो।
आइतबार नै कर्णालीका कलाकार तथा पत्रकारहरु मिलेर निर्मलाका बलात्कारी खै, अब जनता सहन सक्दैनन्, यो लोकतन्त्र भएकोले सत्य बोल्ने अधिकार भएको भन्दै सरकारलाई हिम्मत भए देश निकाला गर भन्दै चेतावनीसमेत दिएका छन्।
गीतमा वाइडबडीमा घोटाला, राष्ट्रपतिको सुविधालगायतका कुरालाई व्यंग्य गरिएको छ। राणा शासन हटिसकेकोले अब जनताले अझै लोकतन्त्रमा पनि राणा शासनको जस्तै दमन गर्न नपाइने भन्दै व्यंग्य गरिएको छ।
शर्माको गीतमा राष्ट्रपति र प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ। काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे शनिबार दिउँसो छलफल भएको स्रोतले बतायो। यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बतायो । गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ।
पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा लगाम लगाउन खोजिरहेको चौतर्फी विरोध भइरहेको छ।