सत्याग्रही गोविन्द र ओली सरकारको हठ

| 2018 Jul 17 | 07:23 am 9829

– कृष्णप्रसाद सापकोटा

एउटै मुद्दालाई लिएर पन्ध्रौँ पटक अनसन बसेका सत्याग्रही चिकित्सक गोविन्द केसीको चर्चाले यतिबेला मुलुक तताएको छ । देशको राजनीति नै प्रभावित तुल्याउने तागत बोकेको सन्त चिकित्सक केसीले उठाएका मुद्दाप्रति आम तह र तप्का एकीकृत हुँदै गर्दा सरकार भने झन्–झन् कठोर बन्दै गएको छ । मेडिकल माफियाविरुद्धको मुद्दाको सुनुवाई उचित तवरले होस् भन्ने हेतुले एकतिर डा. गोविन्द केसी दुर्गम जुम्ला पुगेर सत्य सुन्न सरकारलाई आग्रह गरिरहेका छन् । यस क्रममा शारीरिक रूपले सर्लक्कै गल्न पुगेका उनलाई कुनै पनि बेला ‘जीवनदायी उपचार’ आवश्यक पर्ने भन्दै उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले भेन्टिलेटरको व्यवस्था गर्नुपरेको अवस्था छ भने यता प्रधानमन्त्री केपी ओली चाहिँ यी निष्ठावान् सत्याग्रहीसँग वार्ता गर्न समेत कन्जुस्याइँ गरिरहेका अनुभूति गर्नुपरिरहेको छ ।

बेला न कुबेला केको मेला भनेझैँ केपी ओली चन्द्रागिरिको चुचुरो चढेर कविता फुराउँछन् । आफूलाई निकै कवि–हृदयको व्यक्ति सावित गर्ने प्रयत्न गर्दै उनी ‘भावी सन्तती मुस्कुराएको सपना देख्न पाउँ’ भन्ने वाक्य बुन्दै सुनाइरहेछन् । तर तिनै भावी सन्ततिको उज्ज्वल भविष्य र मुलुककै समृद्धिका लागि गोविन्द केसीजस्ता ‘तपश्वी’ले निःस्वार्थ आग्रह गर्दा उनी ‘सरकारसँग वार्ता गर्ने भए गोविन्द केसीलाई भात खुवाएर मात्र हाजिर गराउ’ भनी फरमान जारी गर्न शरम मान्दैनन् । ‘बाँचुल्जेल हो जिन्दगी मर्नु त छँदैछ’ भनी दर्शन छाँट्न खोज्दै गर्दा प्रधानमन्त्री ओलीले सत्याग्रही गोविन्दमाथि तीखा काँडारूपी कठोर बचन–वाण प्रहार गर्दै ज्युँदै मार्न खोजेको सन्देश प्रवाह गरिरहेका छन् । देशको प्रधानमन्त्रीमाथि यस्ता शब्द प्रयोग गरेर लेख्नुपर्दा पङ्क्तिकारलाई पक्कै अपशोच लागेको छ, तर प्रधानमन्त्री ओली र उनका अनुयायीहरूको हर्कत हेर्दा जतिसुकै आलोचना पनि कमै हुन्छ भन्नैपर्ने अवस्था पैदा भएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौंदेखि आन्दोलनरत एक निस्वार्थी सत्याग्रहीमाथि यसरी कठोर बन्न सक्ने सरकारबाट आमजनताले के–कस्तो आशा राख्ने ? यतिबेलाको सङ्गीन सवाल हो यो । माफिया पोस्नकै निम्ति एउटा निहत्था अनसनकारीमाथि दानवी शैलीमा प्रस्तुत हुन र गालीगलौजको अर्थ लाग्ने गरी सार्वजनिक अभिव्यक्ति दिन नहिच्कचाउने शासकहरूबाट ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार भएको हेर्न आमनेपालीले अझै कति वर्ष, दशक वा शताब्दि नै कुर्नुपर्ने हो ?

गोविन्द केसीको मुद्दासँगै जोडिएर यसरी मुलुकको समृद्धिको चर्चा उठान हुँदै गर्दा एकपटक नेपाली जनताले आन्दोलन र बलिदानमार्फत ल्याएको गणतन्त्रको कुरा गर्नु सान्दर्भिक होला ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौंदेखि आन्दोलनरत एक निस्वार्थी सत्याग्रहीमाथि यसरी कठोर बन्न सक्ने सरकारबाट आमजनताले के–कस्तो आशा राख्ने ? यतिबेलाको सङ्गीन सवाल हो यो । माफिया पोस्नकै निम्ति एउटा निहत्था अनसनकारीमाथि दानवी शैलीमा प्रस्तुत हुन र गालीगलौजको अर्थ लाग्ने गरी सार्वजनिक अभिव्यक्ति दिन नहिच्कचाउने शासकहरूबाट ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार भएको हेर्न आमनेपालीले अझै कति वर्ष, दशक वा शताब्दि नै कुर्नुपर्ने हो ?

समाजवादको नारा र समृद्धिको सपना बेचेर प्रदेश र सङ्घीय चुनावमा व्यापक जनमत हासिल गरेको दुई तिहाइको शक्तिसहित अहिले केपी ओली सत्ताको लगाम खिचिरहेका छन् । तर, जनताका अपेक्षाहरूलाई उपेक्षा गर्दै प्रधानमन्त्री र मन्त्रीले अनौठा र उराठलाग्दा व्यवहार गर्न थालेका छन् । उनीहरूका ध्यान जनताको सेवामा भन्दा पनि अन्यत्रै छ । जनजीविका समस्या हल र सुशासनका लागि सरकारले एकपछि अर्को कदम चाल्नुपर्ने बेला सिंहदरबारमा सत्त दलालहतकै हालीमुहाली चल्न थालेको देखिँदै छ ।

जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान छ । लोकतन्त्रप्राप्तिको आन्दोलनबाट देशमा ठूलो परिवर्तन भयो । तथापि, राज्यको माथिल्लो संरचनामा परिवर्तन आउँदैमा सत्ताको चरित्रमा भने परिवर्तन आउन सक्दोरहेनछ भन्ने अहिले पुष्टि भैरहेको छ । परिवर्तन भन्ने कुरा आधारभूत तहमा हुनुपर्ने हो, तर यसको लक्षण देखिइरहेको छैन । जनताले सरकारबाट विगतका कमजोरीहरू दोहोरिने अपेक्षा गरेका थिएनन् । बितेको असार महिनाको १५ दिनमै राज्यका विभिन्न निकायहरूबाट ४० अर्ब रुपैयाँ खर्च गरिएको समाचार सार्वजनिक भएको छ । बजेट सक्न र कमिसन पाउनका लागि जे पनि गरिएको छ ।यसरी जनअपेक्षाविपरीत ओली सरकारले अघि बढाएको असारे विकासले आमतहमा निरासा र आक्रोश नै जन्माएको छ ।

सत्ताको पहुँचमा रहेकाहरूले मिलोमतोमा वैधानिक रूपमै भ्रष्टाचार गर्ने उपाय निकालेका छन् । असारे विकासलाई असारे भेलले नै बगाइदिएको परिवेशमा जनता दुःखी भए पनि जनप्रतिनिधिहरूलाई भने यथेष्ट खुशी दिएको महसुस गरिएको छ । किनकि, अर्को वर्ष पनि उनीहरूले यसैगरी विकास गर्ने अवसर पाउनेछन् र राज्यको स्रोतमाथि कानुनी रूपमै दोहन गर्न पाउने छन् । हिजो पनि यस्तै थियो र आज पनि यही नियति दोहोरिएको छ । सत्तामा नपुग्दासम्म बेथितिलाई अन्त्य गर्ने भाषण गर्नेहरू तरिका बदलेर आफै भ्रष्टाचारमा लिप्त भएका छन् । राजनीति सेवा नभएर जागिर बन्न पुगेको छ । बरु विगतको निरङ्कुश र तानाशाही भनिएको राज्यको पालामा समेत राजनीति यसरी ‘जागिर’ बनेको थिएन जो आज अनुभूति गर्नुपरेको छ ।

सत्ता बाहिर रहँदा राजनीतिक दलहरूले गरेको भाषण खोक्रो आदर्श मात्र रहेछ भन्ने सामान्य जनताले पनि बुझ्न थालेका छन् । प्रमुख राजनीतिक दलहरूको व्यवहार देख्दा त नेपालमा लोकतन्त्र नफाप्ने नै हो कि भन्ने धारणा पनि व्याप्त बन्न पुगेको छ ।

शिक्षा र स्वास्थ्यमा आमनेपालीको सस्तो र सुलभ पहुँच हुनुपर्छ, पीडित नेपालीले न्याय पाउनुपर्छ भन्ने सद्उद्देश्य राखेर अभियन्ता केसीले आफ्नो ज्यान नै जोखिममा पारेर मुद्दा उठान गरेका हुन् । राज्यले यस्ता अभियन्तालाई चिनेर कदर गर्नुपर्नेमा उल्टै अपमान गरेको अवस्थामा प्रतिपक्षी नेपाली काङ्ग्रेसले गोविन्द केसीको एजेण्डाको समर्थनमा उठाएको आवाज र उहाँको जीवनरक्षाका निम्ति खेलेको भूमिका सह्राहनीय छ ।

जनताको आधारभूत तहको आवश्यकता र समस्याबाट ओली सरकार अनभिज्ञ छैन भनि सत्ताका हर्ताकर्ताहरू दाबी गर्छन्, तर तीन तहको सरकारले थोपरेको करले नागरिकको ढाड सेकिएको छ । राज्यले आफूलाई सुधार्न ठोस प्रयत्न गरेको पनि देखिँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको चर्चा सरकारका मन्त्रीहरूले जति गरे पनि व्यवहारमा त्यस्तो देखिएको छैन । सरकारमा बसेकाहरू आफ्नो पारिवारिक घेराबाट बाहिर निस्कन सकेका छैनन् तर आदर्शका वाद र सिद्धान्तको कुरा गर्न भने पछि परेका छैनन् । बदमासी र गैरजिम्मेवारीले सीमा नाघेको छ । दुई तिहाइको सरकारले पनि यसको अन्त्य गर्न नसक्ने हो भने नेपाली जनताले अब कहाँ गएर कसरी सन्तोषको सास फेर्ने ? अत्यन्त कहालीलाग्दो परिवेश पैदा भएको छ ।

यस्तै–यस्तै निराशाका बीच गोविन्द केसी प्रकरण एउटा ज्वलन्त मुद्दा बनेर उठेको हो । शिक्षा र स्वास्थ्यमा आमनेपालीको सस्तो र सुलभ पहुँच हुनुपर्छ, पीडित नेपालीले न्याय पाउनुपर्छ भन्ने सद्उद्देश्य राखेर अभियन्ता केसीले आफ्नो ज्यान नै जोखिममा पारेर मुद्दा उठान गरेका हुन् । राज्यले यस्ता अभियन्तालाई चिनेर कदर गर्नुपर्नेमा उल्टै अपमान गरेको अवस्थामा प्रतिपक्षी नेपाली काङ्ग्रेसले गोविन्द केसीको एजेण्डाको समर्थनमा उठाएको आवाज र उहाँको जीवनरक्षाका निम्ति खेलेको भूमिका सह्राहनीय छ । यो यथार्थ स्वीकार गर्न कञ्जुस्याइँ गरिनु हुन्न भन्ने पङ्क्तिकारको बुझाई छ ।

अन्त्यमा, प्रतिपक्षी काङ्ग्रेसले सदनदेखि सडकसम्म गरेकोे प्रयास, नागरिक समाजका विभिन्न तह–तप्काले उठाएको बुलन्द आवाजका कारण ढिलै भएपनि गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको समाचार आएको छ । आफ्नो जायज मागसँग सम्झौता नगर्ने बरु जुम्लामै ज्यान फाल्ने अभियन्ता गोविन्द केसीसँग सरकारले जुम्लामै पुगेर वार्ता गर्नुपर्छ । यदि आफ्ना नागरिकप्रति उत्तरदायित्व महसुस गर्ने सरकार हो भने यसमा कुनै बहानावाजी गरिनु हुँदैन । सरकारको पहिलो कर्तव्य त यतिबेला डा. केसीको उपचारमा केन्द्रित रहनु हो, किनकि अनसनका कारण कमजोर बन्न पुगेको उहाँको स्वास्थ्यावसथा अत्यन्त नाजुक भएको छ । मुलुक र जनताको हितका लागि ज्यान नै उत्सर्ग गर्न नडराउने यस्ता सपुतको सम्मान र कदर गर्नु जनपक्षीय राज्यको निम्ति एउटा अवसरकै कुरा पनि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.