ललितपुर, भदाै २५: नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको छ।
जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्कासन गरेको हो।
विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको हो।
ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बैंकले क्युप्रोनिकेल धातुबाट बनेको १०० दरका (तौल २५ ग्राम, व्यास ३७ एमएम, निष्कासन संख्या १० हजार थान) र चाँदीबाट बनेका १००० (तौल १० ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या २५ हजार थान) र २५०० रुपियाँको सिक्का (तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या १० हजार थान) निष्कासन गरेको थियो।
राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउनुहुने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन्।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरूको मात्र टकमरी गरिएका सिक्का निष्कासन हुने गर्दथ्यो।
‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो’, प्रवक्तासमेत रहेका निरौलाले भने– ‘सिक्का निष्कासनले जोशीको योगदानलाई अविस्मरणीय बनाउनेछ।’
टक्सारले नेपालका ऐतिहासिक अवसर एवं सामाजिक र सांस्कृतिक निधिहरूलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्का निष्कासन गर्दै आएको छ।
प्रवक्ता निरौलाका अनुसार यसअघि नेपाल अधिराज्यको संविधान–२०४७ र नेपालको संविधान–२०७२ जारी भएको अवसरमा स्मारिका सिक्का जारी गरिएको थियो।
त्यसै गरी गौतम बुद्ध, आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा उनीहरूको चित्र अंकित टकमरी गरिएका सिक्का जारी गरिएको थियो। त्यस्तै वन्यजन्तु अंकित स्मारिका सिक्का पनि निष्कासन गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसैबीच महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गरी सिक्काको अनावरण गरेको छ।
सिक्का अनावरण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कुनै पनि सम्पदा सय वर्ष पुगेपछि पुरातात्विक सम्पदाका रुपमा लिइने नियमअनुसार जोशी आफैं जीवित सम्पदा रहेको धारणा राखे।
‘जोशी स्वयम्मा जीवित धरोहर हुनुहुन्छ। उहाँको चित्र अंकित सिक्का निष्कासनबाट जोशीको योगदानको सम्मान गरेको हो। यो हाम्रा लागि गौरवको विषय हो’ –अर्थमन्त्री डा. खतिवडाले भने।
जोशीको योगदानलाई कदर गरेर सिक्का निष्काशन गर्न पाउनु सरकारको लागि पनि गौरवको विषय रहेको पनि अर्थमन्त्री खतिवडाको भनाइ रहेको छ।
सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद पम्फा भुसालले राष्ट्रियताको भावना बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै संस्कृतिमार्फत सिंगो राष्ट्रलाई जोड्न जोशीले महत्वपूर्ण योगदान पुर्याएकोमा विचार व्यक्त गरे।
सो अवसरमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको सम्मानबाट जीवित छँदा नै व्यक्तित्वको योगदान कदर गर्न संस्कार बसाउन प्रयास गरेको बताए।
जोशी सय वर्ष पुगेको अवसरमा वर्षभरि विविध कार्यक्रम आयोजना गरी मनाउने कार्यक्रमअनुसार सिक्का निष्कासन भएको सत्यमोहन जोशी मूल समारोह समिति कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनले बताए।
उपप्रमुख गीता सत्यालले जोशीलाई सम्मान गर्न पाउँदा सबैमा गौरवको सञ्चार भएको धारणा राखे। नेपाल समाचारपत्रबाट