सञ्चारिका समानता पुरस्कार घोषणा

रिपोर्ट नेपाल | 2018 Sep 10 | 03:26 pm 5779

सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७४’ हिमाल खबर पत्रिकामा प्रकाशित ‘समाज नै संवेदनाहीन’ फिचरका लागि पत्रकार सन्त गाहा मगरलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि १५ हजार (पन्ध्र हजार) रुपैयाँ रहेको छ ।

उक्त फिचर २०७४ साल माघ २८ गते प्रकाशित भएको थियो । पुरस्कारका लागि समूहले गत २०७४ वैशाख १ गतेदेखि २०७४ चैत ३० गतेसम्म विभिन्न पत्रपत्रिकामा छापिएका लैङ्गिक समानतामा आधारित समाचार÷लेख÷फिचरबाट छनौट गरेको थियो । छनौट गरिएका फिचर तीन सदस्यीय निर्णायक मण्डललाई उपलब्ध गराइएको थियो ।

पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्ष तथा सञ्चारिका समूहका सल्लाहकार बबिता बस्नेत र सञ्चारिका समूहका संस्थापक अमृता लम्साल थिए । छनोट समितिले समाचार/लेख/फिचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको बताइएको छ । ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४’ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएनुभएकी पत्रकार गीता कुँवरलाई दिने निर्णय गरिएको छ । पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि संवाददाता छिन् । यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो । उक्त पुरस्कार महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि सात हजार एक सय एघार रहेको छ ।

यस्तै, ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४’ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई दिने निर्णय गरिएको छ । पत्रकार शाह फोटो पत्रकार हुन् । उनीहरू दुबैजना काठमाडौंबाट पत्रकारिता गरिरहेका छन् । छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन सहयोग पु¥याउने उद्देश्यले २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको हो । समूहको यहि २४ गते बसेको केन्द्रिय कमिटिको बैठकले उक्त पुरस्कारहरु दिने निर्णय गरेको हो । पुरस्कार यही भदौ ३१ गते (१६ सेप्टेम्बर, २०१८) का दिन हुने सातौं महाधिवेशन र २२ औंं वार्षिक साधारण सभाको उद्घाटन समारोहका अवसरमा प्रदान गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.