पर्वत, असार १०: काठमाडौँ महानगरपालिकाको प्रमुखमा वालेन्द्र शाहले राजनीतिक दलहरूलाई परास्त गरेसँगै देशको राजनीतिक अवस्था गरमागरम बनेको छ। धरान र कैलाली पनि राजनीतिक दलहरूलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवारले नै बाजी मारे।
पुराना पुस्ताका नेताहरूले अन्तिम अवस्थासम्म पनि कुर्चीको मोह नत्याग्दा स्वतन्त्र रूपमा आएका तथा राजनीतिक दलबाट आएको भए पनि युवाहरूको खोजी हुन थालेको छ। राजनीतिक दलहरू परम्परावादी स्वभावबाट उन्मुक्त हुन नसकेका कारण आम नागरिकको मनमा युवाहरूको जोस र जाँगरले कब्जा जमाइहालेको अवस्था छ।
अब सङ्घ र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै आएको छ। गएको स्थानीय तहको निर्वाचनलाई हेरेर धेरै युवाहरू आगामी निर्वाचनमा लालायित देखिन्छन्। सामाजिक सञ्जालमा राखिने पोस्ट र कमेन्टहरूमा पनि युवाहरूको माग नै बढी देखिन्छ। परम्परावादी राजनीतिक सोचले नयाँपन दिन नसकेको आरोप लागिरहेको बेलामा रवि लामिछाने पनि सञ्चार कर्म छाडेर राजनीति कर्ममा होमिएका छन्। यसले पनि राजनीतिमा युवाहरूलाई आकर्षित हुनका लागि झनै प्रेरणा दिएको छ।

नेपाली काँग्रेस पर्वतका युवा नेता विप्लवजंग हमालले सामाजिक सञ्जाल फेसबुकमा यही प्रसङ्गको स्ट्याटस राख्दै अब राजनीति पेसा नभएर समाजसेवाको रूपमा रहनुपर्ने र यसैको बलमा स्वतन्त्र युवाहरू उदाएको उल्लेख गरे। जसमा प्रतिक्रिया जनाएका अधिकांशले पर्वतको निर्वाचन क्षेत्रहरूमा पनि युवा नेताको आवश्यकता रहेको बताएका छन्। प्रतिक्रिया दिनेमध्येका कतिले त हमाल स्वयंलाई नै बालेन शाहको जसरी नेतृत्वमा आउनुपर्ने पनि लेखेका छन्। सामाजिक सञ्जालमा लेख्ने युवाहरूले भनेका अरूलाई नेता बनाउनेमा मात्र नभई आफै नेतृत्व सम्हाल्नुपर्ने पनि बताउँछन्। समाजसेवामा सक्रिय रहेका व्यक्तिहरू राजनीतिमा आउँदा त्यस्तो नेतृत्वले समाजको लागि केही न केही योगदान गर्ने भएका कारण पनि युवाको नेतृत्व अनिवार्य भएको भनी सामाजिक सञ्जालमा विचार व्यक्त गरिएका छन्।
यस्ता छन् सामाजिक सञ्जालमा राखिएका कमेन्टहरू
‘शालीन र भद्र स्वभावको धनी समाजमा केही गरी देखाउनुपर्छ भन्ने समाजसेवी यो देशलाई खाँचो छ।’
“अहिले बालेन, हर्क, गोपी हमालको स्वतन्त्रमा लहर नै चलेको छ । त्यसमा घण्टी बजाउछु भन्दै रवि लामिछाने पनि आएका छन् ।पक्कै पनि यसलाई शुभ सङ्केतको रूपमा लिनु पर्दछ । राजनीति भनेको कुनै पेसा, व्यवसाय होइन !यो त विशुद्ध समाज सेवा गर्ने र समाज रूपान्तरण गर्ने पवित्र एउटा अभियान एउटा फोरम हो ।जो जक रहेर पनि समाजको सेवा गर्न सकिन्छ ।हालका दिनमा केही त्यस्ता व्यक्तिहरूको कारण राजनीतिक बदनाम हुँदै छ“।
हो। पक्कै पनि राजनीति गर्ने पहिलो, दोस्रो तहका नेताहरूले नै यत्ति कुरा पनि आत्मसात् नगरी औडाहा ओकल्दै हिँडेको देख्दा पो अचम्म र उदेक लाग्छ !
यी लगायत पर्वत जिल्लाको राजनीतिमा पनि बालेन शाहको जस्तै गर्विलो राजनीतिको आवश्यकता रहेको युवाहरूको कमेन्टमा देखिन्छ।
नेता हमाल नेपाल तरुण दल अन्तर्गतको केन्द्रीय तरुण परिचालन समितिको केन्द्रीय सदस्यको रूपमा रहेका छन्। राजनीति शास्त्रमा एम.ए सम्मको अध्ययन पूरा गरेका उनी कानुनका पनि ज्ञाता हुन्। पर्वत जिल्ला सहित देशभर नै धार्मिक, बौद्धिक, शैक्षिक लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेका हमाल विपद् र समस्यामा रहेका व्यक्तिलाई सघाउने समाजसेवी हुन्। उनी नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी सङ्घको केन्द्रीय सह कोषाध्यक्ष तथा धौलागिरि क्रसर व्यवसायी व्यवसायी सङ्घको अध्यक्ष समेत हुन्।
कोभिड १९ को सङ्क्रमणको बेलामा जलजला गाउँपालिकामा निडर रूपमा उनले गरेको सहयोगको मूल्याङ्कन गर्दै अमेरिकाबाट हिरो अवार्ड समेत प्राप्त गरेका थिए।
केन्द्रमा काँग्रेस सभापति शेरबहादुर देउवाको निकट मानिने उनी जिल्लामा सभापति युवराज जोशीसँग नजिक छन्। काँग्रेसको १३ औँ महाधिवेशनपछिको कार्यकालमा सभापति देउवाले हमाललाई केन्द्रीय उद्योग तथा व्यापार विभागमा मनोनीत गरेका थिए।
राजनीतिक परिवारमा हुर्किएका हमाल आफ्नै हजुरबुबाको राजनीतिबाट प्रभावित थिए। उनका हजुरबुबा जयबहादुर हमाल २००७ सालको क्रान्तिमा क्रान्ति गर्नकै लागि वीरगन्ज पुगेका थिए।
अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नका लागि प्रस्ताव आएको भए पनि आफूले इच्छा व्यक्त नगरेको बताउँदै हमालले जनताले चाहेको अवस्थामा अब भने पनि आफू निर्वाचनमा उम्मेदवार रहने उल्लेख गरे। आफ्नो पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको हमालको भनाई छ।