काठमाडौं, भदौ ४: महत्वपूर्ण कानुनहरु बनाउने पर्ने तथा मुलुकमा व्याप्त हजारौं समस्याको समाधानका विषयमा छलफल गर्नुपर्ने लगायतका कतिपय कामहरु लथालिंग छोडेर सभामुखसहितका नेकपाका सासंदहरु केबलकार चढ्न चन्द्रागिरी पुगेका छन्।
ऐतिहासिक तस्बिर खिच्न भन्दै प्रतिनिधिसभाका सभामुख-उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष-उपाध्यक्ष, पूर्वसभामुखहरुसहित सातै प्रदेशका सभामुख-उपसभामुख तथा अन्य सासंदहरु तथा संसदसचिवालयका उच्चओहोदाका कर्मचारीहरुसहित करिब एक सय जना आइतबार चन्द्रागिरी पुगेका हुन्।
चन्द्रागिरि केबुलकारको प्रशंसा गर्दै सभामुख महराले संघीयतालाई संस्थागत विकास गर्दै लोकतन्त्रलाई बलियो बनाउन संघ र प्रदेशका उच्च नेतृत्वबीचमा संसदीय प्रक्रिया तथा अनुभव आदानप्रदान गर्न जरुरी रहेको बताएका थिए।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघ र प्रदेशबीच कानून निर्माणमा समन्वयको खाँचो औंल्याउदै प्रदेशसभालाई आवश्यक स्रोतसाधनले सम्पन्न गर्न आवश्यक सहयोग संघीय संसद्ले गर्ने बताए।
संसद स्थगित गरी रमाइलो गर्न र चन्द्रागिरि केबलकार चढ्न गएका उनीहरूको खर्चका विषयमा भने केही बताइएको छैन।
यस्तो ऐतिहासिक जमघट सिंहदरबार वा नयाँवानेश्वमै गरेको भए पनि हुने भन्दै सामाजिक सञ्जालमा उनीहरुको व्यापक आलोचना भइरहेको छ। व्यवसायी चन्द्र ढकालको आतिथ्यता ग्रहण गर्न चन्द्रागिरी जान संसद बैठक नै स्थगित गरेको घटनाले संसदीय सर्वोच्चता भन्दै हुँकार गर्न त मज्जाले मिल्छ तर निरुद्देश्यको भेला उपलब्धीहीन हुने र विशेषाधिकार त्यहाँ प्रयोग नहुने भन्दै आलोचना भएको छ।