काठमाडौं, फागुन १८: प्रहरीले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भई हाल चावाहिल बस्ने २१ बर्षीय सुवास महत रहेका छन् ।
एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले सोमबार आयोजना गरेको बन्दका क्रममा संसद भवन अगाडि सडकमा ‘नो एमसीसी’ लेखिएको रातो तारले बेरिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो ।
दिउँसोमात्रै नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको थियो । कुकरभित्र विस्फोटक पदार्थ भने भेटिएको थिएन । जनमानसमा भय त्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले प्रेसर कुकर राखिएको निष्कर्ष प्रहरीले निकालेको थियो ।
घटनाको भोलिपल्ट मंगलबार बम राख्ने महतलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । प्रहरीकाअनुसार महत अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्षसमेत हुन् ।
घटनामा प्रयोग गरेको मोटरसाइकलसहित महतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।