काठमाडौँ, साउन २८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चर्चामा आएको अन्दाजी १ सय किलो सुनमा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले सुन प्रकरणका विषयमा उच्च स्तरीय आयोग बनाएर छानबिन गराैं भन्दा सरकार चाेरको खुट्टो काट भन्दा आफै खुट्टो ताने झै आयोग गठन गर्न नमान्नुका पछाडी संलग्नता नभएर के हुन सक्छ अध्यक्ष ओलीको प्रश्न थियो ।
नेकपा एमालेलाई संसद अवरोध गर्याे भनेर आरोप मात्र लगाइएको बताउँदै अध्यक्ष ओलीले आफूहरुले संसद अवरुद्ध नगरेको प्रस्टिकरण दिएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले निश्पक्ष छानबिन आयोग गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे ।
‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो ? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ’, अध्यक्ष ओलीको भनाई रहेको थियो । बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने बताउँदै ‘एसपीको नेतृत्वमा छानबिन गर्दा एसएसपीले यसो नगर्नु भनेपछि गर्न नसक्ने अध्यक्ष ओलीको भनाई रहेको थियो ।
उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको आरोप लगाए । उनले संसदमा प्रतिपक्ष बोल्न उठ्ने वित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको समेत बताए ।