संसद् विघटनविरुद्धको रिटमा अब निरन्तर सुनुवाइ हुने

रिपोर्ट नेपाल | 2021 Jan 17 | 07:39 am 1385

काठमाडौं, माघ ४ः विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग गरी दायर भएका रिट निवेदनको तथ्यमा प्रवेश गरी आइतबारबाट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । ती रिट निवेदन कुन इजलासमा बहस गर्ने भन्न बारेमा टुङ्गो लागेसँगै आइतबारबाट तथ्यमा प्रवेश गरी संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले ती रिट निवेदन सोही इजलासले सुनुवाइ गर्ने निष्कर्ष निकालेको हो । यसअघि ती रिट निवेदन बृहत् पूर्णइजलासले सुनुवाइ गर्नुपर्ने माग उठेपछि तथ्यमा प्रवेश गरी बहस हुन सकेको थिएन ।

प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध यही पुस ६ गते सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनमा प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको दाबी गरिएको छ । असंवैधानिकरुपमा विघटन गरिएको प्रतिनिधिसभालाई पुनर्बहाली गर्नुपर्ने माग ती रिट निवेदनमा उल्लेख गरिएको छ ।

पुस ५ गते बिहान बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष गरेका थिए । राष्ट्रपतिले सो प्रस्तावलाई तत्काल स्वीकार गरी प्रतिनिधिसभा विघटन गरिएको जानकारी सार्वजनिक गरेका थिए ।

सर्वोच्चमा दायर भएका रिट निवेदनहरुमा वर्तमान सरकारले बहुमत गुमाएको खण्डमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार बनाउन सक्ने अवस्था हुँदा हुँदै राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि विघटन गर्ने कार्य गरेको उल्लेख गरिएको छ ।

वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा (१) बमोजिम गठन भएको भनी सरकारकै कुनै निकायले उल्लेख गरेका छन् भने कुनैले उपधारा (२) बमोजिम गठन भएको जनाएका छन् । उपधारा (१) वा (२) जुनसुकैबमोजिम गठन भएको भए तापनि सरकारले प्रतिनिधिसभा विघटन गर्न नसक्ने रिट निवेदनमा दाबी गरिएको छ ।

सर्वोच्चले अब ती रिट निवेदनको हरेक दिन सुनुवाइ गर्ने संकेत दिएको छ । हरेक बुधबार र शुक्रबार गठन हुने संवैधानिक इजलासले सो विवाद टुङ्गो नलागेसम्म हरेक दिन बस्ने संकेत दिएको छ । आज आइतबार संवैधानिक इजलास गठन हुने आदेश दिएपछि अब सो इजलास विवादको टुङ्गो नलागेसम्म हरेक दिन गठन हुने संकेत पाइएको सर्वोच्चका एक कर्मचारीले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.