काठमाडौं, असाेज २: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसद् र संसदीय समितिमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
बुधबार पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले संसद् र संसदीय समितिमा आएका विधेयकबारे छलफल गर्दै आफ्ना सांसदहरूलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका हुन्।
संसदीय दलको छलफलबारे जानकारी दिँदै सचेतक पुष्पा भुसालले ‘संसदीय दलको बैठकमा भूमिसम्बन्धी विधेयकमा अलि बढी छलफल भएकाे बताए ।
बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक पनि संसदबाट जबरजस्ती पारित गरेको भन्दै आपत्ति जनाएका थिए।’
बैठकमा संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदलाई सचेत पनि गराएका थिए।
सांसद भुसालका अनुसार संसदीय समितिमा हुने छलफलमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिइएको छ। नेपाल समाचारपत्रबाट