संसद्को बर्खे अधिवेशन आजबाट सुरु हुने

रिपोर्ट नेपाल | 2019 Apr 29 | 07:01 am 1493

काठमाडौं, वैशाख १६: संघीय संसद्को बर्खे अधिवेशन सोमबार सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

यसपालिको बर्खे अधिवेशन पनि बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारको भनाइ छ। गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो। कानुनमन्त्री भानुभक्त ढकालले यो अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसदमा दर्ता हुने बताए।

संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका विधेयक र संसद्मा प्रक्रियामा रहेका र समितिमा रहेका गरी ५५ विधेयक बर्खे अधिवेशनमा प्रस्तुत हुने अनुमान छ।

गत चैत १० गते हिउँदे अधिवेशन अन्त्य भएपछि एक महिनाको समयपछि बर्खे अधिवेशन सुरु भएको छ। हिउँदे अधिवेशन संविधानसँग बाझिाएका कानुन निर्माणमा बढी केन्द्रित रहेको थियो।

बर्खे अधिवेशन पहिला बजेट निर्माणमा केन्द्रित हुनेछ त्यसपछि कानुन निर्माण प्रक्रिया सुरु हुनेछ। सरकारले ल्याउने बजेट, नीति कार्यक्रम विगतको भन्दा के कति फरक हुन्छ त्यसको यस अधिवेशनमा महत्वपूर्ण स्थान रहनेछ।

सरकारले ल्याउने नीति कार्यक्रममा के के विषयले प्राथमिकता पाउने छन् भन्ने विषय पनि यस अधिवेशनको चर्चाको विषय बनेको छ।

गतबर्ष ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा सहितको नीति तथा कार्यक्रम ल्याएको सरकारले अहिले विगतको नाराको सार्थकताबारे के भन्ने हो त्यसले पनि अधिवेशनको महत्वको बोकेको छ।

सरकारले बार्षिक बजेट ल्याउँदा गत वर्षको तुलनामा उत्पादनमा वृद्धि, कृषिको आधुनिकीकरण, राष्ट्रिय गौरवका आयोजनाको कार्यन्वयनमा तीव्रता ल्याउने लक्ष्य लिएको थियो।

सरकारले लिएका लक्ष्यको कार्य प्रगति कति भयो अहिलेको बजेटले कसरी सम्बोधन गर्ने हो त्यो पनि महत्वको विषय बनेको छ। बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत, प्रि–बजेट छलफल हुने, बार्षिक बजेट पारित हुने विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल हुने र बजेट पारित गर्नेदेखि नयाँ कानुन निर्माण गर्ने काम गर्नुपर्ने भएकाले यो निकै महत्वपूर्ण रहेको संसद् सचिवालयका अधिकारीहरूको भनाइ छ।

सोमबारको प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्नका लागि १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। संसद् अधिवेशनको पहिलो दिन भएकाले दलीय आधारमा संसद्मा बोल्ने विषयमा निर्णय लिन कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आगामी जेठ १५ गते आर्थिक वर्ष २०७६र०७७ को वार्षिक बजेट ल्याउनुपर्नेछ भने नीति तथा कार्यक्रम २० गते प्रस्तुत हुने कार्यक्रम छ। २२, २३ र २४ गते नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

यसैगरी, २७, २९, ३० गते बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) माथि छलफल हुनेछ। नीति तथा कार्यक्रम र प्रि–बजेटमाथि उठेका छलफललाई सरकारले सुनुवाइ गर्नुपर्ने हुन्छ।

तर, दुईतिहाइको सरकारले यसबारे सुनुवाइ गर्नेछ भन्ने विश्वासबारे प्रमुख प्रतिपक्ष कांग्रेसले पनि कुनै प्रतिक्रिया दिएको छैन। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.