संसदीय समितिले डा गोविन्द केसीसँग छलफल गर्ने

| 2018 Dec 25 | 06:51 am 1554

काठमाडौं, पुस १० : शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको चिकित्सा शिक्षा विधेयक माथि छलफल गर्न बनेको उपसमितिले डा. गोविन्द केसीसँग पुन: छलफल गर्ने भएको छ ।

सरकार र केसीबीच भएको सम्झौता विधेयकमा समेट्दा केही कानुनी जटिलता आउने भन्दै छलफल गर्न लागिएको उपसमितिले जनाएको छ। उपसमितिले सांसदहरु खगराज अधिकारी, गगन थापा र योगेश भट्टराईलाई केसीसँग छलफल गर्ने जिम्मेवारी दिएको छ। सोमबारको बैठकले विधयेकमाथि समितिलाई प्रतिवेदन बुझाउने कार्यतालिका तोकेको थियो।

३ वटा विषयमा विवाद र कानुनी जटिलता देखिएको भन्दै केसीसँग छलफल गर्न लागिएको थापाले बताए। १० वर्षसम्म काठमाडौं उपत्यका भित्र नयाँ मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजहरुलाई सम्बधन दिन नपाउने र सीटीइभीटीलाई चिकित्सा शिक्षा आयोग भित्र समेट्न केसीले अनसन तोड्ने क्रममा सरकारसँग सम्झौता गरेका थिए।

१० वर्षसम्म काठमाडौं उत्पयकामा मेडिकल कलेज खोल्न नपाउने र एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने प्रावधानले राजधानी बाहिर पनि मेडिकल कलेज खोल्न र सम्बन्धन दिन अवरोध पुग्न सक्ने सांसदहरुको तर्क छ। त्रिभुवन र काठमाडौं विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेज खोल्न सम्बन्धन दिइसकेको छन्।

नयाँ विश्वविद्यालय खोलेर मेडिकल कलेज समेत सञ्चालन पछि सम्बन्धन दिँदा १० वर्षसम्म समय लाग्न सक्ने अधिकारीले बताए। ‘सरकार र केसीसँग भएको सम्झौता विधेयकमा समेट्न प्रतिवद्ध छौं,’ उनले भने, ‘तर भोलि जटिलता नआओस भनेर छलफल गर्न लागिएको हो।’

अरु विश्वविद्यालयले मेडिकल कलेज खोल्न सम्बन्धन दिनुअघि आफ्नै मेडिकल कलेज हुनुपर्छ। विश्वविद्यालयले ३ सय शय्याको ३ वर्ष चलाएको आफ्नै मेडिकल कलेज भएपछि मात्रै अन्य कलेजलाई सम्बन्धन दिन पाउने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.