संसदीय समितिमा रहने सदस्यको नाम उपलब्ध गराउन सभामुखको आग्रह

रिपोर्ट नेपाल | 2018 Jul 05 | 06:06 pm 3376

काठमाडौँ, २१ असार : सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै सचिवालयमा पत्रकारसँग आज कुराकानी गर्दै उनले एक साताभित्र संसदीय समितिले पूर्णता पाउने र शुक्रबारको बैठकमा केही समितिको गठन हुने सम्भावना रहेकोसमेत जानकारी दिए । राजनीतिक दलले संसदीय समितिमा रहने सदस्यको नाम नपठाएकै कारण समिति गठन हुन सकेको छैन ।

सभामुख महाराले संविधान कार्यान्वयनका क्रममा आगामी असोज २ गतेभित्र धेरै ऐन जारी भइसक्नुपर्ने भएकाले सरकारलाई कानूनका विधेयक संसद्मा पठाउन पनि आग्रह गरे । नयाँ संविधान जारी भई लागू भएपछि पुराना कानूनको संशोधन तथा नयाँ कानून गरी संसद्मा १०० विधेयक आउनुपर्ने हुन्छ । कानून पारित गर्नुपर्ने समयावधि अत्यन्त कम भएकाले सभामुख महराले सरकारलाई सो आग्रह गरे ।

सदनमा आफूले सत्ता पक्ष र प्रतिपक्ष दुवैका आवाजलाई समान महत्व दिने भन्दै उनले निर्णायक अवस्था आउँदा बहुमतकै सहारा लिनुपर्ने अवस्था रहेको स्पष्ट पारे । संसदीय समिति गठन हुँदा चार ठूला दलबाहेकका साना दललाई पनि कुनै न कुनै समितिमा समावेश गराउन आफूले पहल गर्ने सभामुख महराले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.