काठमाडौं, भदाै १४ः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
बानेश्वरमा आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले दलको नेता चयन गरेको हो । यस्तै, राष्ट्रिय सभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरू पदाधिकारी भने पछि चयन हुने सांसद विरोध खतिवडाले बताए ।
संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् । यसैगरी, बैठकले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय पार्टीको स्थायी कमिटी बैठकले गरिसकेको छ ।
‘आजको बैठकले प्रतिनिधिसभामा दलका नेता अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभाको दलको नेता डा. बेदुराम भुसाललाई चयन गरेको छ’ बैठकमा सहभागी सांसद विरोध खतिवडाले आइतबार भने, ‘देउवा सरकारमा जाने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव कमरेडलाई नै दिइएको छ ।’
दलको बैठक बस्नुअघि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र पार्टी अध्यक्ष नेपालबीच छलफल भएको थियो । मन्त्रालय बाँडफाँटबारेमा छलफल गर्दै छिट्टै नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति नेताहरूबीच भएको छ ।
स्रोतका अनुसार पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)ले ६÷६ मन्त्रालय लिने सहमति गरेका छन् । यद्यपि कसले कुन मन्त्रालय लिने भन्नेबारे अझै टुंगो लागेको छैन । राजधानी दैनिकबाट