काठमाडौँ १६ फागुन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ आज पनि नहुने भएको छ। संवैधानिक इजलास नै गठन नहुने भएकाले उक्त विवादमा सुनुवाइ नहुने भएको हो।
प्रधानन्यायाधीशको व्यस्तताका कारण संवैधानिक इजलास बस्न नसक्ने भएको सर्वोच्च प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ जनकपुर पुगेका छन्। हेटौँडा हुँदै जनकपुर पुगेका उनी आज कार्यालयमा हाजिर हुने छैनन्।
सर्वोच्च अदालत श्रोतका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ मंगलबार उच्च अदालत हेटौँडाको भवन उद्घाटन गरी निरीक्षणका लागि जनकपुर पुगेका छन् । प्रधानन्यायाधीश श्रेष्ठ नै जनकपुरमा रहेको कारण बुधवारको संवैधानिक इजलास बस्न नसकेको हो । महत्त्वपूर्ण मानिएको बुधवारको संवैधानिक इजलास छल्न प्रधानन्यायाधीश जनकपुर पुगेको एक रिट निवेदकले आरोप लगाएका छन् ।