मोरङ, असोज ९ : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेलामा उनले साधन स्रोतमाथिको अधिकार दिनुका साथै स्थानीय तहलाई प्रदेशको इकाईको रुपमा राख्नुपर्ने बताएका हुन् ।
‘उनले सबैलाई समान अधिकार सम्पन्न बनाउन र सर्वमान्य संविधान बनाउन संशोधन अपरिहार्य रहेको र त्यो प्रक्रिया अब चाँडै सुरु हुने बताए । संघीय लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रदेशलाई मजबुत बनाउनुको विकल्प छैन,’ उनले भने, ‘प्रदेशहरु समृद्ध बन्दै गएपछि १० वटासम्म प्रदेशको संख्यामा वृद्धि हुन्छ ।’ प्रदेशको संरचनामा समेत परिवर्तन गर्नु आवश्यक भएको अध्यक्ष यादवको भनाइ थियो ।
संघीयतालाई संरक्षण गर्दै व्यवस्थित गर्दै लग्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए । ‘अहिले संघीयतालाई मजबुत ढंगले सजगतापूर्वक संरक्षण गर्ने बेला हो,’ उनले भने, ‘संघीयताविरोधी शक्तिहरु संघीयता मास्न मौका पर्खेर बसेका छन् ।’ उनले धर्मनिरपेक्षतालाई धरापमा पार्न ठूला शक्तिहरुले चलखेल गरिरहेको बताए ।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था जर्जर रहेको बताए । मुलुकमा सबभन्दा ठूलो समस्या गरिबी र बेरोजगारी रहेको र त्यसको समाधानका लागि कृषिमा आधारित औद्योगीकरण आवश्यक भएको समेत बताए । उनले पार्टी नेता तथा कार्यकर्तालाई पहिचानवादी शक्तिहरु एक ठाउँ भएकोले सबै मिलेर आ–आफ्नो पहिचानको रक्षा गर्ने उद्देश्यले संगठन मजबुत बनाउनतर्फ लाग्न निर्देशन दिए ।