संविधान दिवसमा संघीय समाजवादी फोरमले कुनै विरोध गर्दैन : उपप्रधानमन्त्री यादव

| 2018 Sep 18 | 05:21 pm 1867

विराटनगर, असोज २ : संविधान दिवसको अवसरमा संघीय समाजवादी फोरम नेपालले कुनै पनि विरोध नगर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताएका छन् । विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले  संविधान दिवसमा केहि पनि  विराेध नगर्ने बताएका हुन् ।

विगतमा संविधान निर्माण भएको समयमा गुनासो र फरक मतहरु यथावतै रहे पनि अब संवैधानिक प्रक्रियाबाट समाधान हुने बताए । ‘चुनाव अघिको हाम्रो राजनीतिक कोर्ष चुनावपछि परिवर्तन भइसकेको छ,’ उनले भने, ‘तीन तहको सरकार गठन भएर हामी संवैधानिक प्रक्रियामा पुगिसकेकाले अब संविधान संशोधन र परिमार्जनको माध्यमबाट अघि बढछौँ ।’

अहिले कानुन निर्माणको चरणमा रहेको र त्यो पूरा भएपछि संविधान संशोधनको चरणमा प्रवेश गर्ने उनले बताए । ‘मौलिक हकसम्बन्धी महत्वपूर्ण कानुनहरु बनेको छ, नागरिकतासम्बन्धी कानुन आउँदै छ र थप केही कानुनहरु बनेपछि एउटा चरण पूरा हुन्छ,’ उनले भने, ‘त्यसपछि संविधान संशोधनको चरणमा प्रवेश गर्छौँ ।

संविधान संशोधन र परिमार्जनको प्रक्रियाको संघर्षलाई निरन्तर अघि बढाउछौँ ।’ संशोधनको बाटोबाट नै अघि बढ्ने पार्टीको आधिकारीक धारणा भएको यादवले प्रष्ट पारे । संविधान दिवसको विरोध गर्ने भन्दै कसैले बाटोमा कुनै विज्ञप्ती निकालेर केही हुँदैन त्यो पार्टीको आधिकारिक धारणा नभएको समेत उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.