हेटौंडा, असोज ३ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त वर्तमान संविधानको पूर्ण कार्यन्वयनका लागि आग्रह पूर्वाग्रह भन्दामाथि उठेर सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याएका छन् ।
मुख्यमन्त्री पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताएका छन् ।
संविधान दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन क्रियाशील रहेको प्रतिबद्धता जनाएका छन् ।
हजारौंको संख्यामा नेपाली आमाका छोराछोरीले आफ्नो ज्यान लोकतन्त्र र संविधानसभा मार्फत संविधान जारी गराउनका लागि आहुती दिएका छन् ।
हाम्रो अधिकारका लागि आफ्नो ज्यान हाँसिहाँसि बलिबेदिमा चढाउने सहिदको सपना साकार पार्नका लागि जनताको जीवनशैली र व्यवहारमा सुधार गरी उनीहरुलाई समाज उत्थानको साथै विकासको पूर्वाधार निर्माणमा आत्मनिर्भर तुल्याउन प्रदेशका लागि आवश्यक ऐन कानून तर्जुमा गर्ने र केही ऐन प्रमाणीकरण गरिसकिएको मुख्यमन्त्री पौडेलले उल्लेख गरेका थिए ।
मुख्यमन्त्री पौडेलले जनतासँग प्रत्यक्ष सरोकार भएका विकाससँग सम्बन्धित कार्यालयबाट जनतालाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको समेत बताएका छन् ।
सो अवसरमा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलले तराईका राजनीतिक दलले संविधानको मर्मलाई आत्मसात गरी जनताको मौलिक हकको सम्बद्र्धधन गर्न र उनीहरुलाई आर्थिक समृद्धि क्रियाशील गराउन एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए ।
समारोहमा मुख्यमन्त्री पौडेलले जन आन्दोलनको क्रममा शहादत् प्राप्त गरेका वासुदेव घिमिरेका मातापिता र शहीद रुद्र पाख्रिनका धर्मपत्नी राममाया पाख्रिनलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाई सम्मान गरेका थिए।