काठमाडौं, भदौ ७: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले वन्यजन्तुको अखेटोपहार सहित दुई जनालाई पक्राउ गरेको छ । कस्तुरीका बिना जस्तो देखिने एक थान अखेटोपहार सहित पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर १ का ३० बर्षीय विजय लामा र नुवाकोट शिवपुरी गाउँपालिका ६ का ४० बर्षीय सन्तोष कुमार तामाङ रहेका छन् ।
विशेष सुराकीका आधारमा खटिएको टोलीले सामाखुशीको टोखा रोडबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ । बिक्रिका लागि बोकेर हिडेको अवस्थामा पक्राउ परेका विजय लामा र सन्तोष कुमार तामाङ यस अघि पनि यस्तै कारोबार गर्दा पक्राउ परेपछि अदालतबाट रिहा भएका थिए ।
२०७४ कात्तिक १६ गते स्वयम्भु वृत्तले विजय लामालाई रेडपाण्डाको छाला एक थान, चितुवाको छाला एक थान सहित पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको थियो । वन कार्यालयले अनुसन्धान गरी अदालत बुझाएका लामा १० लाख धरौटीमा छुटेका थिए । त्यस्तै सन्तोष तामाङलाई पनि बालाजु वृत्तले २०७४ भदौ ५ गते रेडपाण्डाको छाला दुई थान सहित पक्राउ गरेको थियो ।
तामाङ पनि अदालतबाट पाँच लाख धरौटीमा छुटेका थिए । पक्राउ परेका तामाङ र लामा नामुद वन्यजन्तुका तस्करी भएको पटके पक्राउबाट पुष्टि भएको छ ।