संघीय संसद् सदस्यको पद ६ तरिकाबाट रिक्त हुने

रिपोर्ट नेपाल | 2021 Apr 21 | 07:15 am 1813

काठमाडौं, बैशाख ८ः नेपालको संविधानको धारा ८९ मा संघीय संसद् सदस्यको पद ६ तरिकाबाट रिक्त हुने व्यवस्था छ । सोही धाराको खण्ड (क) मा प्रतिनिधिसभाका सदस्य भए सभामुखसमक्ष र राष्ट्रिय सभाका सदस्य भए अध्यक्षसमक्ष राजीनामा दिएमा सो पद रिक्त हुने उल्लेख छ ।

यसै गरी (ख) मा संविधानबमोजिम निजको योग्यता नभएमा वा नरहेमा, खण्ड (ग) मा प्रतिनिधिसभाको कार्यकाल वा राष्ट्रिय सभाको सदस्यको पदावधि समाप्त भएमा, खण्ड (घ) मा निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा, खण्ड (ङ) मा जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानुनबमोजिम निजले दल त्याग गरेको कुरा सूचीत गरेमा र खण्ड (च) मा निजको मृत्यु भएमा पनि सदस्य पद रिक्त रहने व्यवस्था छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सांसदमध्ये २७ जनालाई सो पदबाट हटाउने पहिलो पाइला चालेको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम हो ।सो खण्ड (ङ) मा संघीय कानुनबमोजिम सम्बन्धित दलले आफ्नो सदस्यले दल त्याग गरेको सूचीत गरेमा सांसद पद जाने व्यवस्था छ ।

खण्ड (ङ) लाई विस्तृत रूपमा राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा उल्लेख गरिएको छ ।सो ऐनको दफा ३१ को उपदफा (१) मा कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेशसभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न नपाइने उल्लेख गरिएको छ ।

यसै गरी, उपदफा (२) मा उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्याग गरेको मितिदेखि स्वतः रिक्त भएको मानिने स्पष्ट गरिएको छ । दल त्याग गरेको हुने आधारहरू दफा ३२ मा उल्लेख गरिएको छ ।

सोबमोजिम सम्बन्धित सदस्यले दलको सदस्यबाट लिखितरूपमा राजीनामा दिएमा, निजले अर्को दलको सदस्य लिएमा र निज आफैंले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा भने दल त्याग गरेको मानिने कानुनमा स्पष्ट गरिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.