संखुवासभा, असार १६: जिल्लाकाे सिलिचुङ गाउँपलिकास्थित होङ्लामा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
गस्तीमा हिडेको प्रहरी टोलीमाथि विप्लव समुहका कार्यकर्ताले गोली हानेपछि प्रहरीले जवाफी फायर खोलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीनबहादुर लामाले जानकारी दिए ।
सोमबार भोजपुरको डिलखर्कबाट संखुवासभा जादै गरेको प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएकाे हाे । गोली हानाहान भएपनि घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको डिएसपी थापाले बताए ।
विप्लवका कार्यकर्ता र प्रहरीबीचकाे दुरी टाढा भएकाले उनीहरु कति संख्यामा थिए भन्ने खुल्न नसकेको पनि जानकारी दिए । थापाका अनुसार दुबैतर्फको विवरण आउनेक्रम जारी रहेकाे बताए ।
अहिले सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५/२५ जनाको बेग्लाबेग्लै टोली सेनाको ३ वटा हेलिकोप्टरमा उक्त स्थलमा पुगेको बताइएकाे छ ।
घटनाबारेमा जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार गरिरहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा रहेकाे छ ।