रौतहट, असार २३ः जिल्लाको ईशनाथ नगरपालिका ६ स्थित चमनाका ईलाकाबाट सशस्त्र प्रहरीले १० लाख नेपाली रुपैयाँ र १२ हजार ५ सय भारतीय रुपैयाँसहित भारतमा घर बताउने २६ वर्षिय मोहम्मद कमरे आलमलाई पक्राउ गरेको छ । बि आर ५ यू ५१६५ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत नखुलेपछि उनलाई उक्त मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका आलमलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । बरामद भारतीय रुपैयाँ निजको आफन्तलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल सहित दुई जना पक्राउ
जिल्लाको सिम्रौनगढ नगरपालिका १ स्थित ठाडगाउँबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षिय धिरज मुखिया र ३५ वर्षिय अनिल मुखिया रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त कटुवा पेस्तोल फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद कटुवा पेस्तोल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।
चोरीनिकासीको कस्मेटिक सामान बरामद
रौतहट जिल्लाको गौर नगरपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिव १ लाख २० हजार रुपैया बराबरको चोरीनिकासीको कस्मेटिक सामान बरामद गरेको छ । नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।