श्री ३ भए श्री ५

| 2020 Jan 04 | 08:29 am 2125

क्रान्तिमा राणाशासन फाल्न भूमिका निर्वाह गरेकाले कांग्रेसको विश्वास राजामा थियो । राणाले राम्रै कुरा गर्दा समेत कांग्रेसीहरु षडयन्त्र ठान्थे । दुई वर्षभित्र संविधानसभाको चुनाव गराउने उद्देश्यका साथ संयुक्त सरकार बने पनि राणा–कांग्रेसबीचको अविश्वासका कारण निर्वाचनको सम्भावना टर्दै गएको थियो । त्यही द्वन्द्वको फाइदा उठाउँदै राजा भने आफ्नो शक्ति बढाउने दाउमा थिए । राणाहरुचाहिँ जुनसुकै उपायद्वारा गुमेको अधिकार पुनः स्थाति गर्ने षड्यन्त्रमा थिए ।

उता, भारत पनि नेपालका शक्तिकेन्द्रलाई खेलाएर, जुधाएर कमजोर बनाउने र आफ्नो भूमिका बढाउने रणनीतिमा थियो । गोर्खादल काण्डपछि राणालाई कमजोर बनाउन कांग्रेसले प्रधानमन्त्रीको सुरक्षा दस्ता बिजुली गारत राजाकहाँ सार्नुपर्ने प्रस्ताव राख्यो । त्यही बेला मोहन शमशेरले भनेका थिए, बीपी बाबु यो प्राइमिनिस्टरको सुरक्षाका लागि गठन भएको हो, यसलाई राजाकोमा लानुहुन्न, हामीले राजालाई दाह्रानङ्ग्रा झिकेको बाघ जस्तो गरी थुनेर राखेका छौं । अब उसलाई दाह्रानङ्ग्रा नलाइदिनुहोस्, हामीलाई खाने बाघले तपाईलाई पनि खान्छ, बरु तपाई नै राख्नुहोस् । दुईतीनपल्ट प्रधानमन्त्रीले जोड दिएर भनेपछि बीपी अडानमा लचिलो भइसकेका थिए ।

तर गणेशमानले त्यो कुरा सन्नै चाहेनन् । उनी भन्न थाले, यो बाघजुँगे (मोहन शमशेर)को कुरा पत्याए हुन्छ बीपी ? राणालाई कमजोर बनाउन यो भन्दा उचित विकल्प हुँदैन । २००८ साल बैशाख १ गतेबाट बिजुली गारत नारायणहिटीमा सारियो । राणा प्रधानमन्त्रीको साटो राजा नेपाली सेनाको सुप्रिम कमाण्डर बनाइए । एक सय चार वर्षसम्म राणा प्रधानमन्त्री अन्तरगत रहेको बिजुली गारत, पाश्र्वदल र कालीबहादुरलाई सिंहदरबारबाट खोसी नारायणहिटीमा राखियो र सारा बारुदखाना, हतियार, खरखजाना घरहरुमा तीन साँचो लगाई त्यसको एक साँचो श्री ५ सँग रहन पुग्यो । र सिंहदरबारमा रहेको मेसिनगन, ब्रेनगन आदि पनि नारायणहिटी दरबारमै राखियो । गोर्खादलमाथि प्रतिवन्ध लगायो । मन्त्रीमण्डलमा बबर शमशेरको सट्टा सिंह शमेशेर र भरतमणि शर्माको सट्टा सूर्यप्रसाद उपाध्यायलाई समावेश गरियो ।

बीपीले भनेका छन्, तयस दिन राणा प्रधानमन्त्रीको ठाउँमा शाह नेपालको निरंकुश राजा भए । राणाको फौज अब शाहीको सेनामा परिणत भयो ।

बिजुलीको गारत राजाको मातहत गएपछिका दिनमा भारत मोहनशमशेरलाई बलियो बनाउनतिर लागिसकेको थियो । त्यसैले राजीनामा दिन तयार भइसकेका प्रधानमन्त्रीको आयु लम्बियो । यसबीच भारतीय प्रंधानमन्त्री नेहरुले मोहन शमशेर र बीपीलाई दिल्ली बोलाए । मिलेर काम गर्नुपर्छ भन्दै उनले नौ घण्टासम्म सम्झाएको बीपीले उल्लेख गरेका छन् । तीन दिनसम्म दुई घण्टा–तीन घण्टा सम्झाए । म आजित भएँ, समस्या अरु छन् ।

उनी माथिमाथिका कुरा गर्छन्, मिलेर काम गर्नुपर्छ, यस्तो उस्तो भनेर । मोहन शमशेरसँग के कुरा उनले गरे मलाई थाहा छैन । त्यसपछि प्रधानमन्त्रीको राजीनामा टरिहाल्यो । बीपीले भनेका छन, त्यही मौकामा राजा आफ्नो अधिकार बनाउन लागे । बीपीको सर्वत्र विरोध भइरहेको थियो । त्यसमा घ्यू थप्ने काम गरिरहेका थिए, भारतीय राजदूत सिन्हा । नेपालको आन्तरिक मामिलामा उनको बढ्दो चासो र हस्तक्षेपको शैली बीपीलाई पटक्कै मन परेको थिएन । तयसैले सिन्हाको विरोधमा बीपीे वक्तव्य नै निकाले । वक्तव्यमा भनिएको थियो, राजदूत, राजदूत भएर बस्नुपर्छ, उसले आफूलाई हिन्दुस्तानको डिस्ट्रिक्ट बोर्डको चेयरम्यान जस्तो ठान्नुहुँदैन ।

खुकुरी दल काण्डपछि बिनासोचीविचारी बिजुली गारत राजदरबारमा सारियो । जुन दिनदेखि त्यसले राजाको सुरक्षा दिन थाल्यो, त्यसको भोलिपल्टैदेखि बीपी, गणेशमानलाई समेत राजासँग भेट गर्न कठिन हुन थाल्यो । पहिले जस्तो सरासर राजा बसेको ठाउँमा जान मिलेन, एकाध घण्टा त पर्खनैपर्ने भयो । जगत नेपालद्वारा लिखित बीपीको विद्रोह

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.