‘श्री स्वस्थानी व्रत कथा’ को विधिवत समापन आज

| 2019 Feb 19 | 07:45 am 2819

काठमाडौं, फागुन ७ : पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ। आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।

प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत फागुन ७ गते मंगलबार समापन भएको छ। मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ । मनोकाङ्क्षा पूरा हुने प्राचीन जनविश्वासले नै सर्वसाधारणको स्वास्थानी व्रतप्रतिको आकर्षण बढेको पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउँछन्।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।

समापनका क्रममा अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवम् मौसम अनुसारका फलफूल सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिन्छ। पूजा सम्पन्न भएपछि जुन कामनाले व्रत गरिएको हो त्यो पूरा होस् भन्दै अर्घ दिई व्रतको समापन गरिन्छ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल विशेषगरी काठमाडौँभित्रै छन्। कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बागमती नदी, शाली नदीजस्ता क्षेत्र यहीँ पर्ने हुनाले पनि नेपाली समाजमा यसले बढी महत्व पाएको बताइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.