काठमाडौँ फागुन १५ : पुस शुक्ल पूर्णिमादेखि हिन्दू धर्मालम्बीहरुले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज शनिवार विधिपूर्वक समापन गरिँदै छ । पुष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्
आज पुर्णिमाका दिन ब्रत समापनको अवसरमा माधवनारायणका ब्रतालुहरु शाली नदीसहित, भक्तपुरको हनुमानघाट लगायत विभिन्न स्थानमा स्नानका लागि पुगेका छन।
एक महिनासम्म चल्ने स्वस्थानी व्रत र शालीनदि मेलामा करिब २० लाख भक्तजनले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
स्वास्थानी ब्रत कथामै शाली नदी उल्लेख भएकोले शाली नदी पवित्र स्थान मानिन्छ । एक महिने व्रत अवधिभरि शाली नदीमा भक्तजनहरुको बिशेष घुइँचो लाग्ने गर्छ ।
कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ। कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी शालीनदीमा समापनकालागि आइरहेका छन्।