श्रीलङ्कामा भाइरल फ्लूको प्रकोप : १४ बालबालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 01 | 03:32 am 4240

श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका सिन्ह्वाले जनाएको छ ।

दक्षिणी श्रीलङ्काको कारापितिया शिक्षण अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक जयम्पथी सेनानायकेले दिएको जानकारी अनुसार श्रीलङ्कामा अहिलेसम्म भाइरल ज्वरोका कारण १४ जनाको मृत्यु भएकोमा कारापातियामा १३ र एक जनाको राजधानी कोलम्बोमा मृत्यु भएको छ ।

मृतक सबै दुई वर्षभित्रका बालबालिका रहेका बताउँदै उनीहरूमा बिरामी बालबच्चाहरूमा उच्च ज्वरो, रूघा, खोकी तथा टाउको दुख्ने समस्या रहेको पाइएको सेनानायकेले बताए । उनीहरूमा पछिल्लो अवस्थामा श्वासप्रश्वास र निमोनियाका समस्या पाइएको उनले जानकारी दिए । कारापातिया अस्पतालमा अहिले ४९ जना भाइरलजन्य समस्याका बिरामीको उपचार भइरहेको बताइएको छ ।

यसैबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार नै स्वास्थ्य अधिकारीलाई तत्काल भाइरल नियन्त्रणका लागि उपाय अवलम्बन गर्न निर्देशन दिइसक्नुभएको बताइएको छ । यस पहिले भाइरल फ्लू एडिनो भाइरस तथा इन्फ्लूयन्जाका कारण फैलिएको स्वास्थ्य अधिकारीले जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.