श्रीमान छाडेर गाउँकै पुरुषसँग भागेकी महिला भारतमा बेचिइन्, २५ दिनपछि भागेर घर आउन सफल

रिपोर्ट नेपाल | 2019 Sep 26 | 02:37 pm 1973

महोत्तरी, असोज ९  : महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् ।

एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए ।

बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी थिइन् । घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित रू ५० हजार समेत लिनाका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् ।

बैठाले छाडेर हिंडेपछि उसको बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई–तीन जना पुरुष र महिलाले समातेर राख्दै तिमी बेचिएकी छाैं । अब यहीं बस्नुपर्छ र यहीं तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएकी थाहा पाएको उनले उनले सुनाइन् ।

ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमासमेत उनी बेपत्ता भएको खबर गरेका र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठाउपर शरीर बन्धक मुद्दा दायर गरेकामा प्रहरीले मुद्दा दर्ता नगरेको उनका पतिले सुनाए । सो घटना पछि अहिले ती महिलालाई कार्यालयमा बोलाइनाका साथै बैठालाई पनि पक्राउ गर्न प्रहरी खटाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.