बाँके, बैशाख २ः बैजनाथ गाउँपालिका २ नौबस्तामा श्रीमान कुटाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार घरायसी विवादमा बलसिंह मगरले कुटपिट गरी गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो ।
घाइते दिलमायालाई घटनाको तीन दिनपछि आज बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा बलसिंहले दिलमायालाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो ।
तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको आज मृत्यु भएको हो । दिलमायाको शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।