श्रीमती हत्याकाे आरोपमा श्रीमान् र ससुरा पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 07 | 04:21 pm 2302

रौतहट, भदाै २१ : दाइजो नदिएको भन्दै एक महिलाको हत्या गरेको आरोपमा उनका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्रीमान् रामबाबु सहनी र ससुरा मोहन सहनी रहेका छन्।

दाइजोमा मोटरसाइकल नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका-७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या गरेको आरोपमा  मृतकका बुवा अविलास सहनीले प्रहरीमा दिएको जाहेरीका अनुसार श्रीमान् रामबाबु र ससुरा मोहनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

घटना शंकास्पद रहेकाले उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए। पोष्टमार्टमपश्चात् शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

बिहीबार साँझ सन्जुको हत्या भएको मृतकका बाबु अविलास सहनीले बताए। अविलासले प्रहरीमा दिएको जाहेरीमा अनुसार रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै सन्जुलाई कुटपिट गर्ने गरेकाे बताइकाे छ ।

बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरूले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको मृतकका बुबा अविलासको दाबी छ।

केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान् र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाब दिने गरेको कुरा आफूलाई जानकारी गराएको बुबा अविलासले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.