वीरगञ्ज, कार्तिक ६ : वीरगञ्जकी १५ वर्षीया किशोरी आफ्नै बाबुबाट पटक–पटक बलात्कृत भएकी छन् । छोरीमाथि बलात्कार गर्ने गरेको घटना खुलासा भएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो ।
किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटक–पटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान शुरु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।
वीरगञ्ज–११ वडा अध्यक्ष प्रधुम्न सेढाईंले छोरीको आरोपपछि प्रहरीले बुवालाई प्रक्राउ गरी लगेको जानकारी दिए । श्रीमतीलाई रोजगारकीका लागि कुवेत पठाएका उनले त्यसपछि छोरीमाथि लगातार बलात्कार गर्दै आएको खुल्न आएको प्रहरीको भनाइ छ ।