-
विष्णु सापकोटा
२०७६ को नारीदिवस आउदै गर्दा मलाई नारी शक्ति, संघर्षको इतिहास र वर्तमान अवस्थामा महिलाको अवसर बारे स्मरण गर्न मन लाग्यो । सयौं वर्ष अगाडिदेखि नै महिलाहरु अधिकारका लागि प्रत्यक्ष अप्रत्यक्ष संघर्षका आवाजहरु उठाउँदै आएता पनि हाम्रो देशमा महिलाका मौलिक हक अधिकार र राज्यका हरेक तह र तप्कामा ३३ प्रतिशत अवसरहरु प्राप्त भएको धेरै भएको छैन । अहिलेको वर्तमान अवस्थामा संसारका देशहरूका संसदमा महिलाहरुको उपस्थिति सबैभन्दा बढी देखिएको छ ।
तर, कुरा यहाँ निर आएर अडकिएकोछ कि अर्थहीन गणितीय हिसाबको ठुलो उपस्थितिको प्रतिनिधित्व भन्दा सानै भए पनि क्षमतावान र अर्थपूर्ण उपस्थितिको महत्त्वपूर्ण योगदान देखियो । अवसर नपाउन्जेल हामीले अवसर पाएनौ भनेर आवाज उठाउँदै गर्दा अवसर प्राप्तिपछि आफू महिला भएको कुरा नै बिर्सेको हो कि भन्ने यदा कदा प्रश्न उठिरहेका छन् ।
महिलाको लागि अवसर र चुनौती संगसंगै छन् । एकातिर अवसर दिने र संग संगै अंकुस पनि लगाउने काम हरेक पार्टीका पुरुष नेताहरूबाट भएको बुझिन्छ । महिलाहरु पनि सम्बन्धित निकायमा आफ्ना कुरा जोडदार राख्न नसक्नु, स्वविवेक नै निर्णय गर्न अडान लिन नसक्नु, महिला र पुरुष एउटै पद र ओहदामा भएर बराबर काम गरेता पनि महिलाले गरेका काममा झट्ट विश्वास गर्न नसक्ने पुरातन सोच र महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नस्क्नु जस्ता आदि कुराहरूले महिलाहरुलाई कमजोर बनाएको देखिन्छ ।
यो नै महिलाको चुनौती हो । जस्लाइ चिर्नका लागि अब महिलाहरु आफ्नो आत्मबल र विश्वासलाई आफैभित्र विकास गराउन जरुरी छ । आजको यस अवस्थामा आइपुग्दा पनि महिला भएकै कारण परिवार समाज र राज्यका विभिन्न निकायहरूबाट गरिने हत्या, हिंसा र बलात्कार कम हुन नसक्नु यो अत्यन्तै दुःखद् विषय हो ।
एकातिर महिला हकहित र अधिकारका कुरा गर्ने अर्कोतिर महिनवारी छाउपडी प्रथा, दाइजो देउकी प्रथा, बोक्सी धामीझाँक्री जस्ता अन्धविश्वास , जातियता विभेद र छुवाछूत जस्ता अमानवीय व्यवहार गर्ने जो कोहिलाई पनि कडा भन्दा कडा सजायको व्यवस्था नहुँदा पनि हत्या, हिंसा र बलात्कारमा कमि हुन नसकेको तितो यथार्थ हो ।
अब महिलाको लडाई हक अधिकारको भन्दा पनि यसको संरक्षण गर्दै सामाजिक मुल्य मान्यतामा आधारित मानसम्मान र प्रतिष्ठा को लडाईको लागि जरुरी देखिएको छ । पुरुषको अधिकार खोसेर होइन हाम्रो सामाजिक सदभावलई जोगाउँदै एक अर्काको साथ र सहयोगको भावनामा वृद्धि गर्दै कसैको जीवनमा ठेस लाग्ने चरित्र हत्या गर्ने जस्ता कार्यहरुको अन्त्य गर्दै भाइचाराको सस्कारर्लाइ जन्माउने पहल गर्नुपर्छ ।
अब सधै भरी नारी दिवस मनाउनै नपर्ने व्यवस्था ल्याउने पहल गरौं । महिलाको इतिहासको पाठबाट वर्तमानलाई परिवर्तन गर्दै भविष्यको सुनौलो रेखा कोरौ , अब हाम्रा भावि सन्ततिलाई हामिले जस्तै लैङ्गकि हिंसा भोग्न नपरोस् । यौनजन्य हिंसा र बलात्कारको शिकार बन्न नपरोस्, यो सदा सदाको लागि अन्त्य होस यही मेरो नारी दिवसको शुभकामना छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई संसारका महिलाहरुले आफुहरुलाइ महिला भएकै कारण महिला माथी गरिने सबैप्रकारका अन्याय अत्याचार दमन शोषण जस्ता अमानवीय कार्यका हिंसाहरु शहन नसकी महिला मुक्तिका लागि सन १७८९ अक्टोबर ५ र ६ मा पेरिसका श्रमिक महिलाहरुले रोटी रोजि र महँगिका विरुद्ध ठुलो बिरोध प्रदर्शनी गरेर चेतावनी दिएका थिए । त्यो प्रदर्शनमा फ्रान्सेली क्रान्तिको प्रभाव पर्सियन महिलाहरूले समानान्तर र स्वतन्त्रता को माग गर्दै दरबार अगाडि प्रदर्शन गरेका थिए ।
यो नै विश्वमा महिलाहरुले पहिलो पटक दबिएका आवाज हरुलाइ प्रस्फुटन गरेको ऎतिहासिक दिन थियो । यसरी शुरु भएको श्रमिक महिला मुक्तिको आन्दोलन बिस्तारै सन १८३२ मा हल्याण्ड , सन १८३५ मा कोस्टानकमा दैनिक १२ देखि १४ घण्टा कामको बिरोधमा , सन १८४८ अमेरिकी महिला श्रमिक द्वारा महिला श्रमिक लाई गरिने असमान व्यवहार र पुरुषद्वारा गरिने शोषण को बिरोध , सन १८६४ मा अन्तर्राष्ट्रिय स्तरको श्रमिक सङ्गठनहरुको माग , सन १८८९ मा पेरिसमा ऐतिहासिक सम्मेलन गरीएको थियो । र मे १ लाई मजदुर दिवस मनाउने घोषणा सन १८९० मा गरियो । १८९२ महिला मताधिकार सम्बन्धि एकताको सन्देश , सन १८८९ मा पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रिय कलाराजोट्टिकिनले महिलाहरुका समस्याहरुको सम्बोधन , सन १९०८ मार्च मा पुनः मताधिकार को माग गर्दै संघर्ष शुरु , सन १९१० क्यालाराको नेतृत्वमा डेनमार्कको कोपन्हेगनमा १७ वटा समाजबादी देशका राजनीतिज्ञ महिलाहरुको सहभागीता सहितको सम्मेलन , शो सम्मेलनले ८ मार्च लाई महिलाहरुको ठूलो संघर्ष बाट ऐतिहासिक उपलब्धिहरु प्राप्त गरेको एैतिहासिक दिनका रूपमा घोषणा गरेको दिनलाई श्रमिक महिला दिवस भनिएको हो ।
जस्लाई आधार बनएर आज बिश्वभरिका सबै महिलाहरुले एउटा महत्त्वपूर्ण पर्वको रुपमा मनाउदै आइरहेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्मेलन मध्येको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय महिला सम्मेलन सन १९९५ बेइजिङ्ग सम्मेलन रहेको छ । जस्ले पारित गरेको घोषणा पत्रमा महिलाका मौलिक हक अधिकार र वाक स्वतन्त्रताका थुप्रै बुदाहरुले आज सम्म पनि स्थान पाएको छ । जस्लाइ सस्थागत गर्दै नेपालको संविधान २०७२ भित्र राखिएको छ ।
नेपालको सन्दर्भमा यो पर्व मनाउदै गर्दा हिजोका हाम्रा अग्रणी महिलाहरुको मिहेनत र दुःखले आर्जेको अधिकार कतै हामी बिचको अहंकार र घमण्डले गुमाउँदै त छैनौं ? आज हामी २१औं शताब्दिका महिलाहरु एकपटक पछाडी फर्केर हिजो महिला आन्दोलनका आदरणीय ब्याक्तित्वहरु महिला नेतृत्वहरु दिब्या देबी कोइराला , योगमाया नेउपाने , मङ्गला देबी सिंह , नोना कोइराला , इन्दिरा आचार्य , द्वारिकादेबी ठकुरानी शाहना प्रधान शैलजा आचर्या, शाहना प्रधान आदि थुप्रै अग्रणी महिलाहरुको संघर्षलाई टेकेर आज हामी यहाँ सम्मको यात्रामा आइपुगेको यो सफल यात्राललाई भुल्नु हुदैन ।
जसलाई शक्ति र खुराकका रुपमा लिएर हाम्रा अगाडि देखा परेका थुप्रै चुनौतीपूर्ण यात्राको शुभारम्भ नेतृत्व गर्न जरुरी देखिएको छ । आज हिजो भन्दा बाटो सजिलो छ तर पनि यात्रा कठिन छ । किनकि हिजो कुनै स्वार्थ बिनाको एउटै उद्देश्य थियो । तर आज विभिन्न स्वार्थ भित्र लुकेको कुटिल उद्देश्य छ । ब्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथी उठेर हिजोका उपलब्धिहरुको संरक्षण गर्दै महिला मानव अधिकारका लागि आफ्नो अस्थित्व र अस्मिता जोगाउनु नै आजको चुनौती भएको छ ।
लेखकः नेपाल महिला संघ गुल्मीकी सभापति र नेकाकी सचिव हुन् ।